नेभिगेशन
राजनीति

रास्वपा सांसदमा उदासीनता, प्रशिक्षणमा घट्यो सहभागिता

‘जनतालाई नयाँ सोच र कार्यशैलीको खोजी छ’

 काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पार्टीले दिने प्रशिक्षणप्रति उदासीन देखिएका छन् । सांसदहरूका लागि पार्टीले दोस्रोपटक शनिबारदेखि आयोजना गरेको अभिमुखीकरणमा घटेको सहभागिताले यस्तो संकेत गरेको हो । गत चैत ३ र ४ गते ललितपुर ग्वार्कोस्थित होटल तुलिपमा अभिमुखीकरण गर्दा उत्साही देखिएका सांसदहरू तुलनात्मक रूपमा शनिबार त्यस्तो देखिएनन् । 
पार्टीले सांसदहरूको क्षमता विकासका लागि आयोजना गरेको पछिल्लो प्रशिक्षण कार्यक्रममा उपस्थिति पातलो रह्यो । रास्वपाले  शनिबारदेखि जावलाखेलस्थित स्टाफ कलेजमा आफ्ना सांसदहरूका लागि दुई दिने ‘सक्षम सांसद, सशक्त संसद्’ कार्यक्रममा धेरै सांसदहरूले जानै अरुचि देखाए । जसले पार्टीको संसदीय मोर्चा हाँकिरहेका नेताहरू आफ्नै सांसदसँग रिसाएका छन् । संसद्मा करिब दुई तिहाइ नजिक अर्थात् रास्वपाका १ सय ८२ जना सांसद छन् । तर, सांसदहरूकै लागि आयोजित कार्यक्रममै धेरै सांसद पुगेनन् । 
उल्लेख्य संख्यामा सांसदहरू अनुपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले सांसदहरूले पार्टीको कार्यक्रमलाई भन्दा अन्य कामलाई प्राथमिकता दिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘मैले सबै सांसदहरू यहाँ उपस्थित भएको देखेको छैन । पार्टी र संसदीय दलले क्षमता विकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महŒव दिनु र अन्य कामलाई प्राथमिकतामा राख्नु भनेको संसदीय भूमिकाबाट विमुख हुने प्रयास हो ।’ पराजुलीले सांसदहरूको यो उदासीनतालाई पार्टी र संसदीय दलको तर्फबाट गम्भीरतापूर्वक मूल्यांकन गरिने चेतावनीसमेत दिएका छन् । 
पार्टीको दुईदिने प्रशिक्षण कार्यक्रम सुरु हुँदा सांसद आशिका तामाङले सिंहदरबारभन्दा बाहिर कार्यक्रम राखिएका प्रति सामाजिक सञ्जालमै असन्तुष्टि पोखेकी छन् । ‘संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरू बाहिर कसैसँग हल सापटी लिएर गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला ? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति, बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखाजोखा कसले गर्ने ?,’ उनले भनेकी छन्, ‘कि सांसदहरूलाई सुरक्षाको लागि महँगा हलहरूमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा ? अरू दिन चाहिँ पर्दैन ? हामी आफैं परिवर्तनको पक्षमा हिडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उही भनेजस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ?’
रास्वाका केही सांसदहरूका अनुसार पछिल्लो समय पार्टीको कार्यदिशा, नेतृत्वको कार्यशैली र आन्तरिक व्यवस्थापनलाई लिएर केही सांसदहरूमा असन्तुष्टि देखिएका छन् । ‘सुरुमा जुन उद्देश्य र स्प्रिटका साथ हामी आएका थियौं, कतै न कतै त्यो हराउँदै गएको हो कि भन्ने महसुस धेरै साथीहरूलाई भएको छ,’ कार्यक्रममा अनुपस्थित एक सांसदले भने । 
उद्घाटन समारोहपछि शनिबार उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द सत्रमा सांसदहरूलाई प्रशिक्षण दिएका थिए । महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वय तथा उपनेता पराजुलीले संसदीय समितिमा सांसदहरूको भूमिकाबारे प्रशिक्षण दिएको र प्रशिक्षण कार्यक्रम आइतबार पनि जारी रहने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
सरकारले संसद्को अधिवेशन आह्वान गर्न रोकेर आधा दर्जन अध्यादेश ल्यायो । संवैधापिनक परिषद्मा पनि प्रधानमन्त्रीले आफूखुसी निर्णय गरे । पार्टी र सांसदहरूले सरकारको निर्णयको बचाउ गर्नुपर्ने अवस्था छ । सरकारले सिफारिस गरेर जारी गरिएका अध्यादेशहरू ६० दिनमा संसद्बाट अनुमोदन गराउनुपर्छ । एकातिर सरकारले राजनीतिक नियुक्तिका करिब १ हजार ६ सय जनालाई एकैपटकमा हटाएको छ, अर्कोतिर कसैको पनि सोर्स सिफारिसमा नियुक्ति नदिने भन्दै मन्त्री, पार्टीका नेता र सांसदहरूलाई अनुशासनमा बाँधेको छ ।
आफूले पढेको, दक्षता, अनुभव र लगानी रहेका क्षेत्रमा काम गरेर पनि करिअर अगाडि बढाउन सक्ने क्षमताका धेरै सांसद्लाई सरकारले अपेक्षाअनुसारको भूमिका दिन सकेको छैन । बरु प्रशिक्षणका नाममा अनुशासनमा बाँध्ने प्रयास जारी राखेको छ । यसले निराशा बढ्न थालेको एक सांसद्ले बताइन् । ‘हामी धेरैजसोको आ–आफ्नो करिअरको सेक्टर थियो । सांसद भइयो, भूमिका पाइएन, खाली प्रशिक्षण, अभिमुखीकरण भनिरहँदा गलत बाटो आइयो कि भन्ने लाग्न थालेको छ,’ उनले भनिन् ।   

‘जनतालाई नयाँ सोच र कार्यशैलीको खोजी छ’ 


रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले नयाँ अनुहार मात्र नभई नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेको बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले सांसदहरूलाई जनअपेक्षाअनुसार जिम्मेवार र परिणाममुखी ढंगले क्रियाशील हुन आग्रह गरे । 
राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्नुपर्ने जनअपेक्षा रहेको उल्लेख गर्दै उनले उक्त अपेक्षा र पार्टीप्रतिको विश्वासलाई परिणाममा बदल्नुपर्नेमा जोड दिए । ‘नेपालको लोकतन्त्र महŒवपूर्ण मोडमा उभिएको छ । यसलाई सशक्त बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । राजनीतिमा नयाँ पुस्ताको ऊर्जा, पारदर्शिता, सुशासन, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास आवश्यक छ । त्यसको आधार तयार गर्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको हो,’ उनले भने । प्रशिक्षण जरुरी भएकोमा उनको जोड थियो ।
‘आजको राजनीति केबल नाराले चल्दैन । क्षमता, तयारी, अध्ययन र परिणामले राजनीतिलाई परिभाषित गर्छ । जनताले अब कसले के भन्यो भन्दा पनि कसले के ग¥यो भन्ने आधारमा मूल्यांकन गर्न थालेका छन्,’ उपनेता पराजुलीले भने, ‘रास्वपाले सुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई मूल आधार बनाएको छ । त्यसैले जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सक्षम सांसद र सशक्त संसद्को आवश्यकता छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्