नेभिगेशन
अर्थतन्त्र

सेक्स अर्थतन्त्रप्रति अर्थशास्त्रीहरुको अलमल

विश्व अर्थतन्त्रका विविध आयामहरू छन् । ती कृषिदेखि कृत्रिम बुद्धिमत्तासम्म फैलिरहेका छन् । अर्थतन्त्रको अध्ययन गरिँदा अन्य सबै क्षेत्रको अध्ययन भए पनि सेक्सलाई किनारामा राख्ने गरिन्छ । अन्य क्षेत्रका लागि तथ्यांक संकलन गरिन्छ, सिद्धान्त प्रतिपादन हुन्छ र सोही अनुरूप नीतिहरू निर्माण गरिन्छन् । तर सेक्स अर्थतन्त्रको एउटा विशाल बजार भने सधैं ओझेलमा रहिरह्यो । प्रविधिको विकास र बदलिँदो सामाजिक परिवेशसँगै यो क्षेत्र अहिले यति विस्तारित भएको छ कि यसलाई थप बेवास्ता गर्न सम्भव देखिँदैन ।
अध्ययनको खडेरी र विशाल बजार
बेल्जियमका अर्थशास्त्री सेफ अड्रिआन्सेन्सले आफ्नो पुस्तक ‘सेक्स वर्क बाई नम्बर्स’ मा एउटा गम्भीर तथ्य प्रस्तुत गरेका छन् । सन् २००० देखि २०२४ सम्म सेक्स वर्कबारे भएका १८ हजारभन्दा बढी प्राज्ञिक अध्ययनमध्ये ५ प्रतिशतभन्दा कम मात्र अर्थशास्त्रसँग सम्बन्धित छन् । अधिकांश अनुसन्धानले यसलाई स्वास्थ्य, मनोविज्ञान वा कानुनी पाटोबाट मात्र हेरेका छन् ।
यो उदासीनता आश्चर्यजनक छ, किनकि यो उद्योग आर्थिक रूपमा निकै शक्तिशाली छ । अनुमानित तथ्यांकअनुसार विश्वव्यापी पोर्न उद्योगले मात्रै वार्षिक झन्डै १०० अर्ब डलर कमाउँछ । ‘ओन्ली फ्यान्स’ जस्ता डिजिटल प्लेटफर्ममा अर्बौं डलरको कारोबार भइरहेको छ र संयुक्त राष्ट्रसंघको तथ्यांकले विश्वभरका लाखौं मानिस यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको देखाउँछ । स्पष्ट छ, यो क्षेत्र पनि माग, आपूर्ति र मूल्यको सिद्धान्तमै आधारित छ, तर सामाजिक संकोच र तथ्यांकको अभावले यसलाई अर्थशास्त्रको मूलधारमा आउन दिएन ।
विविधता र जटिलता
यौन कार्यलाई एउटै डालोमा राखेर हेर्नु अर्को त्रुटि हो । सडकमा काम गर्ने महिलादेखि डिजिटल प्लेटफर्मका सिर्जनाकर्तासम्मको आम्दानी, जोखिम र कार्यशैली पूर्णतः फरक हुन्छ । कतिपय देशमा यो पेशा वैध छ भने कतिपयमा अवैध । जहाँ यो प्रतिबन्धित छ, त्यहाँ यो बजार भूमिगत हुन्छ, जसले गर्दा ठोस तथ्यांक पाउन झनै कठिन हुन्छ । ऐतिहासिक रूपमा पनि यो क्षेत्रबारे प्रमाणभन्दा अनुमान धेरै हुने गरेको पाइन्छ ।
नयाँ अनुसन्धान र परिणाम
पछिल्लो समय केही अर्थशास्त्रीहरूले नवीन पद्धति प्रयोग गरेर यस क्षेत्रको गहिराइ नाप्ने प्रयास गरेका छन् । रुवाण्डामा विशेष गणना विधि प्रयोग गरेर यस पेसामा संलग्नहरूको संख्या अनुमान गरियो । त्यस्तै, अमेरिकाको रोड आइल्याण्डमा गरिएको अध्ययनले यौन कार्यलाई अपराधको श्रेणीबाट हटाउँदा हिंसा र यौनजन्य रोगमा कमी आएको देखायो । यसको विपरीत, इन्डोनेसिया जस्ता देशमा लगाइएको कडा प्रतिबन्धले स्वास्थ्य जोखिम र आर्थिक संकट बढाएको पाइयो । यी उदाहरणले के पुष्टि गर्छन् भने सेक्स वर्क नैतिक मात्र होइन, एउटा महŒवपूर्ण आर्थिक र सार्वजनिक नीतिको विषय पनि हो ।
डिजिटल क्रान्ति र भविष्य
इन्टरनेटले यो उद्योगको संरचना नै बदलिदिएको छ । अहिले यौन सेवा बार वा क्लबबाट सरेर स्मार्टफोनसम्म पुगेको छ । अनलाइन विज्ञापन र डिजिटल प्लेटफर्मले यो क्षेत्रको आकार नाप्न अनुसन्धानकर्ताहरूलाई केही सहज त बनाएको छ, तर यसले नयाँ सामाजिक चुनौती पनि थपेको छ । युवापुस्तामा डिजिटल यौन सामग्री र ‘सुगारिङ’जस्ता नयाँ स्वरूपहरूलाई हेर्ने दृष्टिकोण बदलिँदै गएको छ ।
विशेषज्ञहरूका अनुसार डिजिटल सेक्सको बढ्दो प्रभावले भविष्यमा सामाजिक सम्बन्ध, जन्मदर र यौन सेवाको बजार मूल्यमा समेत ठूलो फेरबदल ल्याउन सक्छ ।
लामो समयसम्म सामाजिक लाज र कानुनी जटिलताका कारण पाखा लगाइएको सेक्स अर्थतन्त्र आज विश्वअर्थतन्त्रको एक अभिन्न हिस्सा बनिसकेको छ । यदि अर्थशास्त्री र नीति निर्माताहरूले अझै पनि यसलाई गम्भीरतापूर्वक विश्लेषण नगर्ने हो भने, हामीले विश्व बजारको एउटा ठूलो र प्रभावशाली पाटोलाई कहिल्यै बुझ्न सक्ने छैनौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्