नेभिगेशन
अर्थतन्त्र

निर्माण व्यवसायीको देशव्यापी धर्ना

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमिक लागतमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ । 
महासंघले तय गरेको पूर्व निर्धारित शान्तिपूर्ण विरोधको कार्यक्रमअनुसार बिहीबार केन्द्रमा एशोसिएट सदस्य समन्वय समितिका तर्फबाट सडक विभाग र ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकहरूलाई ज्ञापनपत्र बुझाएर ती विभागमा निर्माण व्यवसायीले आधा घण्टा धर्ना दिएका छन् । एशोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशकद्वयलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्थाबारे अवगत गराए ।
यसैबीच, महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले बिहीबार नै प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर शान्तिपूर्ण रूपमा आधा घण्टा धर्ना दिएका छन् । मूल्यवृद्धिका कारण अब उप्रान्त निर्माण कार्य बन्द हुने परिस्थितिका विषयमा अवगत गराउँदै ज्ञापन पत्र दिइ देशभरका जिल्ला प्रशासन कार्यालयमा आधा घण्टा धर्ना दिइएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए ।
महासचिव घिमिरेका अनुसार जिल्ला संघहरूले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, सहरी विकास तथा भवन र सिँचाइ कार्यालयहरूमा ज्ञापनपत्र बुझाएर आधा घण्टा धर्ना दिने कार्यक्रम तय भएको छ । विरोधका कार्यक्रमअन्तर्गत ७ प्रदेशमा निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बु्झाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने कार्यक्रम रहेको महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाहीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्