काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका उत्तम भ्लोन लामाले प्यानल घोषणा गरेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी आउने अधिवेशनबाट स्वतः अध्यक्ष हुने हुँदा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका लामाले आफ्नो प्यालन घोषणा गरेका हुन् ।
इप्पानको आठौं अधिवेशन जेठ २९ गते हुँदैछ । आठौं अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका लामा गणेश कार्की नेतृत्वको वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । ४.४ मेगावाटको राधी जलविद्युत् आयोजना निर्माण गर्दै ऊर्जा क्षेत्रमा प्रवेश गरेका भ्लोनको नेतृत्वमा अहिलेसम्म ७ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् ।
युनिभर्सल पावर कम्पनीमार्फत दोर्दी र रुकुमगाड आयोजना निर्माण गरेका भ्लोन ३० मेगावाटको ङादी हुँदै हाल ४५ मेगावाटको कसुवा खोला निर्माणमा सक्रिय छन् । सुरुमा ४५ मेगावाट रहेको यो आयोजनाको क्षमता विस्तार गरी ९५ मेगावाट बनाइँदैछ । लामाले संखुवासभाको छुजुङ खोला (९७ मेगावाट) को निर्माण पनि सँगसँगै अगाडि बढाइरहेका छन् ।
जलविद्युतका अलवा १७ वटा सौर्य विद्युत आयोजनासमेत अघि बढाइरहेका लामाले ऊर्जाबाहेक रियल इस्टेट, अपार्टमेन्ट परियोजना, फाइभ स्टार होटल र अत्याधुनिक एआई डेटा सेन्टरमा पनि लगानी गरिरहेका छन् । बैंक, बीमा, शेयर मार्केट लगायतका विषयमा विज्ञता हासिल गरेका लामा एनएमबि बैंकका सञ्चालकसमेत हुन् । यो अधिवेशनबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष ३ वर्षपछि सन् २०२९ मा स्वतः अध्यक्ष हुनेछन् । सन् २०३२ मा हुने निर्वाचनमा भने अध्यक्षमै चुनावी प्रतिस्पर्धा गर्ने गरी विधान संसोधन गर्ने तयारी गरिएको छ ।
यस्तै, लामाको प्यानलबाट उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, विक्रम बिष्ट र सुसन कर्माचार्य उपाध्यक्ष पदको उम्मेदवार बनेका छन् । चार्टर्ड एकाउन्टेन्ट (सिए) टिएन आचार्य लामा प्यानलबाट महासचिव पदको उम्मेदवार बनेका छन् । दुई दशकभन्दा लामो बैंकिङ र ऊर्जा क्षेत्रको अनुभव बोकेकी कविता पोखरेल उपमहासचिव पदको उम्मेदवार बनेकी छन् ।
यस्तै, शंकर बश्याल, विजयमोहन भट्टराई, कुवेर मणि नेपाल, सुमन जोशी र अविज्ञा मल्ल सचिव पदको उम्मेदवार बनेका छन् भने अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, प्रतिमा ज्ञवली, वर्णन लामिछाने र ईशा श्रेष्ठ सदस्यको उम्मेदवार बनेका छन् ।
‘इप्पान भिजन २०२९’ प्रतिबद्धता पत्र सार्वजनिक
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका लामाले इप्पानको वर्तमान नेतृत्व, निवर्तमान नेतृत्व र भावी नेतृत्वलाई समेट्दै ‘इप्पान भिजन २०२९’ प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले निजी क्षेत्रको योगदानकै कारण नेपाल लोडसेडिङमुक्त भएको, विद्युत उत्पादनमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा माथि पुगेको तथा आगामी दशकभित्र नेपाललाई दक्षिण एशियाकै प्रमुख ऊर्जा केन्द्र बनाउने सम्भावना रहेको बताए ।
लामाले विद्युत खरिद सम्झौता (पिपिए) मा भइरहेको अवरोध, प्रसारण लाइनको समस्या, नीतिगत अस्पष्टता, विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश, वित्तीय चुनौती तथा प्रशासनिक जटिलता समाधान नगरी ऊर्जा क्षेत्रको तीव्र विकास सम्भव नभएको बताए ।
सार्वजनिक गरिएको प्रतिबद्धतामा सबैभन्दा बढी जोड पिपिए सुधारमा दिइएको र करिब १२ हजार मेगावाट बराबरका आयोजनाको पिपिए रोकिएको उल्लेख लामाले अविलम्ब यी आयोजनाको पिपिए खुलाउन सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, जलाशय जलविद्युत आयोजना तथा पम्प स्टोरेज आयोजनाका लागि छुट्टै ट्यारिफ व्यवस्था, ‘टेक अर पे’ प्रावधानको पिपिएको सुनिश्चितता, विद्युत बिक्री नभए प्रवद्र्धकलाई क्षतिपूर्तिको व्यवस्था तथा पिपिए दर पुनरावलोकनको विषय उठान गर्न समेत प्राथमिकतामा राखिएको उनले बताए ।
निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने, उद्योगहरूलाई सस्तो दरमा विद्युत उपलब्ध गराउने तथा ‘नेपालमा उत्पादन, दक्षिण एशियामा बिक्री’ अवधारणालाई व्यवहारमा लागू गर्ने लक्ष्य रहेको पनि ‘इप्पान भिजन २०२९’ प्रतिबद्धता पत्रमा उल्लेख छ ।