नेभिगेशन
अर्थतन्त्र
भारतको निर्यात प्रतिबन्धका बीच नेपालमा आठ महिनालाई पुग्ने चिनी मौज्दात

आपूर्ति सहज हुने सरकारको दाबी

काठमाडौं । सरकारले नेपाली बजारमा चिनीको अभाव नहुने स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिमा परिवर्तन गर्दै निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपालमा चिनीको अभाव नहुने स्पष्ट पारेको हो ।
आम उपभोक्ताको हित, बजार मूल्यको स्थिरता र चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र व्यवस्थापन गरिरहेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार नेपाल चिनी उत्पादक संघका पदाधिकारी तथा सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिसँग भएको छलफलमा स्वदेशी उद्योगले बजारमा नियमित रूपमा सहज र सुलभ मूल्यमा चिनी आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेकाले पनि तत्काललाई चिनी अभाव नहुने देखिएको हो ।
हाल नेपालमा सञ्चालित चिनी उद्योगहरूको उत्पादन, मौज्दातमा रहेको परिमाण तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलगायतका संस्थाको भण्डारणलाई आधार मान्दा करिब ८ महिनाको माग धान्ने पर्याप्त चिनी मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मातहतका निकायमार्फत बजार अनुगमन, आपूर्ति व्यवस्थापन र विभिन्न निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने पनि सुवेदीले जानकारी दिए । कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अनुचित मौज्दात राख्ने तथा अस्वाभाविक मूल्यवृद्धि गर्ने गतिविधिमाथि कडा निगरानी गरी प्रचलित कानुनअनुसार कारबाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरता हासिल गर्न सरकार बहुपक्षीय प्रयासमा रहेको मन्त्रालयको भनाइ छ । यसअन्तर्गत कृषि, वन तथा वातावरण मन्त्रालयले उन्नत जातका उखुबीउको प्रयोग, उत्पादन दक्षता वृद्धि, नवप्रवर्तन र आधुनिक प्रविधिको प्रयोगमा किसानलाई सहजीकरण गर्नेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादन प्रवद्र्धन, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र नियमनलाई थप प्रभावकारी बनाउने जनाएको छ । साथै, उद्योगी व्यवसायीहरूले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्वच्छ बजार र उपभोक्ता हित संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
चिनीसहित अत्यावश्यक वस्तुको आपूर्ति र मूल्य स्थिरता कायम गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले उपभोक्ता तथा सरोकारवालालाई अनावश्यक त्रासमा नपर्न र चिनीको उपलब्धता तथा आपूर्तिका सम्बन्धमा कुनै किसिमको अफवाहमा विश्वास नगर्न आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्