नेभिगेशन
अर्थतन्त्र

माछाखोला जलविद्युतमा जुट्यो लगानी

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–स्थित माछाखोलामा निर्माण सुरु भएको १६ मेगावाटको  माछाखोला जलविद्युत् आयोजनामा ऋण लगानीको टुंगो लागेको छ । आयोजनामा कृषि विकास बैंकको अगुवाइ तथा लुम्बिनी विकास बैंकको सहभागितामा ऋण लगानी जुटेको हो ।
ऋण लगानी गर्ने बैंक र आयोजनाको प्रवर्धक वाटर इनर्जी डेभलपमेन्ट कम्पनीबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । कम्पनीके तर्फबाट आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी ऋण सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य, अगुवा बैंक कृषि विकास बैंकका तर्फबाट योगेन्द्रबहादुर सिंह र लुम्बिनी विकास बैंकका तर्फबाट भेषराज गौतमले हस्ताक्षर गरेका छन् ।
आयोजना निर्माण गर्न कुल ३ अर्ब ६६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा बैंकले २ अर्ब ६८ करोड ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बैंकहरूले गर्ने ऋण लगानी कुल लागतको ७३.२२ प्रतिशत हो ।
कुल ऋण लगानीमध्ये अगुवाइ गरिरहेको कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ र लुम्बिनी विकास बैंकले १ अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको छ । स्वपुँजीबापतको ९८ करोड रुपैयाँ संस्थापक तथा अन्य लगानीकर्ताबाट सेयर पुँजीका रूपमा जुटाइने कम्पनीले जनाएको छ ।
आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको पहिलो वर्षमा करिब ५८.७६ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक ९८.४९ गिगावाट आवर विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए)अनुसार पहिलो आयोजनाले ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउनेछ ।
आयोजना ३.४० घनमिटर प्रतिसेकेन्ड पानी उपयोग गर्ने गरी डिजाइन गरिएको छ । यसको ग्रस हेड ५६२.५० मिटर रहेको छ । आयोजनामा २५ मिटर लामो बाँध निर्माण गरिनेछ । आयोजनाको मुख्य संरचना ३.३८३ किलोमिटरको हुनेछ । आयोजनामा १.९९७ किलोमिटर लामो पेनस्टक पाइपलाइन पनि राखिनेछ ।
आयोजनाले उत्पादन गर्ने विद्युत् विद्युत्गृहबाट २२ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरी विद्युत् प्राधिकरणको बोराङ सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरिनेछ ।
आयोजनाका लागि आवश्यक पूर्वाधार निर्माण कार्य यसअघि नै सम्पन्न भइसकेको छ । आयोजना स्थलमा संरचना निर्माणको काम पनि सुरु भइसकेको छ । जलविद्युत् क्षेत्रमा अनुभवी ठेकेदारमार्फत निर्माण कार्य अघि बढाइएको र तालिकाअनुसार नै अगाडि बढिरहेको कम्पनीले जनाएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्