नेभिगेशन
अर्थतन्त्र

दुर्गम हिमाली क्षेत्रमा नेपाल टेलिकमको फोरजी विस्तार

काठमाडौं । दुर्गम भूगोलमा समेत गुणस्तरीय दूरसञ्चार सेवा विस्तार गर्ने सरकारी प्रतिवद्धताअनुरूप नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा फोरजी सेवा विस्तारलाई तीव्रता दिएको छ । पछिल्ला दिनमा डोल्पा र ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवा सञ्चालनमा ल्याइएपछि देशका अन्य कठिन भूभागमा समेत सेवा विस्तारको तयारी अघि बढाइएको छ ।
नेपाल टेलिकमका अनुसार डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१ दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३ हजार ९०० मिटर उचाइमा सफलतापूर्वक फोरजी फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । यस सेवाबाट स्थानीय बासिन्दा, सरकारी कार्यालय, सुरक्षाकर्मी तथा पर्यटकलाई उच्च गतिको मोबाइल इन्टरनेट सेवा उपलब्ध भएको छ ।
त्यसैगरी, ताप्लेजुङको अत्यन्त दुर्गम ओलाङचुङ गोला क्षेत्रमा समुद्री सतहबाट करिब ३ हजार ४०० मिटर उचाइमा फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । चीनसँग सीमा जोडिएको यस क्षेत्रसम्म आधुनिक दूरसञ्चार सेवा पुगेपछि स्थानीय जनजीवन, शिक्षा, स्वास्थ्य, व्यापार तथा आपत्कालीन सञ्चार व्यवस्थामा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।
नेपाल टेलिकमले अब सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिर क्षेत्रमा पनि फोरजी सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । बाजुरामा अवस्थित उक्त मन्दिर समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा छ । प्रत्येक वर्ष हजारौं श्रद्धालु पुग्ने यस क्षेत्रमा दूरसञ्चार सेवा विस्तार भएपछि तीर्थयात्री र स्थानीयलाई ठूलो सुविधा पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी, विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर क्षेत्रमा समेत फोरजी सेवा विस्तारका लागि प्राविधिक अध्ययन कार्य अगाडि बढाइएको छ । यो योजना कार्यान्वयनमा आएमा विश्वभरका पर्वतारोही, पदयात्री तथा पर्यटन व्यवसायीलाई उच्च गतिको मोबाइल इन्टरनेट सेवा उपलब्ध हुनेछ ।
सरकारले डिजिटल विभाजन घटाउँदै देशका सबै नागरिकलाई समान रूपमा गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने नीति लिएको छ । सोही नीतिअनुसार नेपाल टेलिकमले हिमाल, पहाड, तराई तथा सुदूर दुर्गम बस्तीहरूलाई डिजिटल रूपमा जोड्ने अभियानलाई निरन्तरता दिएको छ ।
उच्च हिमाली क्षेत्रका दुर्गम बस्तीमा फोरजी सेवा विस्तारसँगै सूचना प्रविधिमा नागरिकको पहुँच बढ्ने, अनलाइन शिक्षा र स्वास्थ्य सेवामा सहजता आउने, पर्यटन प्रवर्धनमा सहयोग पुग्ने तथा स्थानीय आर्थिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्