नेभिगेशन
अर्थतन्त्र

बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । प्रदेश सरकारले साउनदेखि वैशाखसम्मको अवधिमा उक्त परिमाणमा राजस्व संकलन गरेको हो ।
घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य स्रोत मानिन्छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर शीर्षकसहित बाँडफाँटबाट २० अर्ब १ करोड ३ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी दिए । उनका अनुसार संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १० महिनाको अवधिमा ७ अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको छ । 
यस्तै, चालु आव यो अवधिमा प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्वबाट ३ अर्ब २४ करोड ५२ लाख ४१ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारी साधन खरिद–बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायत कारणले अपेक्षाकृत राजस्व संकलन हुन नसकेको अधिकृत सञ्ज्यालको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्