नेभिगेशन
राजनीति

संस्थापनसँग सशंकित इतरपक्ष, खुल्यो अलग्गै कार्यालय

फुट होइन १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔं

काठमाडौं । कांग्रेसभित्र विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक मनमुटाव र शक्ति संघर्ष थप चर्कने भएको छ । पार्टी सभापति गगन थापाले इतरसमूहका पूर्णबहादुर खड्का र शेखर कोइरालासँग भेट गरेपछि कांग्रेसभित्रको विवाद मत्थर हुने संस्थापन पक्षको दाबी थियो । तर, मंगलबार इतरसमूहले अनामनगरमा अलग्गै कार्यालय नै स्थापना गरेको छ । 
विशेष महविधेशनपछि इतरसमूहका नेताहरू केन्द्रीय कार्यालय सानेपा गएका छैनन् । १४औं महाधिवेशनपछिको केन्द्रीय समितिमा रहेका उनीहरूले सम्पर्क कार्यालय नै खोलेर संस्थापन पक्षलाई चुनौती थपेका छन् । नयाँ पार्टीको नाम राष्ट्रिय कांग्रेस र चुनाव चिन्ह शंख राखेर अगाडि बढ्नेबारे इतरसमूहमा छलफल जारी रहेको स्रोतको दाबी छ । नयाँ पार्टी बनाउने तयारीका रूपमा चर्चा भइरहँदा इतरपक्षका नेताहरूले भने त्यसलाई अस्वीकार गरेका छन् । संस्थापनको विपक्षमा देखिएका कांग्रेस नेता केदार कार्कीले अलग कार्यालय पार्टी विभाजनका लागि नभएको बताएका छन् । ‘अहिलेका वर्तमान सभापतिले आफैं पनि २–४ वटा समानान्तर कार्यालय चलाउनुभएको छ, के त्यो नयाँ पार्टी खोल्नका लागि थियो ?,’ कार्कीले भनेका छन्, ‘केही साथीहरू अग्रजको अपमान गर्दै पार्टी छिटो फुटोस् र चित्रबहादुर केसी, उपेन्द्र यादव, नारायणमान बिजुक्छें वा प्रचण्डजस्तो कांग्रेसको सभापति बनेर हालीमुहाली गर्ने सपना देख्दै हुनुहोला । त्यो सपना पूरा हुन्न । गलतका विरुद्ध पार्टीभित्रै लडिन्छ र १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएरै छाडिन्छ ।’
पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता विशेष महाधिवेशन पक्षधरले पाएपछि अलग गतिविधि गर्दै आएको छ । प्रदेशगत भेलादेखि इतरपक्षका युवा नेताहरू अलग्गै भेला भइरहेका छन् । देउवा पक्षका नेता गुरु बरालले अलग कार्यालय स्थापना पार्टी फुटाउनका लागि नभई आन्तरिक लोकतन्त्र र एकताका लागि भएको दाबी गरे । ‘पार्टी एकताका लागि नेतृत्वमाथि दबाब सिर्जना गर्न र आसन्न १५औं महाधिवेशनको तयारीका लागि यो सम्पर्क कार्यालय खोलिएको हो,’ उनले स्पष्ट पारे । 
उनीहरूले यस्तो दाबी गरेपनि संस्थापनइतरको बैठकमा संस्थापनपक्षको गतिविधि आफूहरूलाई पेलेर जाने देखिएको भन्दै आवश्यक परे पार्टी फुटाउनुपर्ने विषय उठेका छन् । इतरपक्षको बैठकमा कांग्रेस नेता मोहन बस्नेतले आवश्यक परे पार्टी फुटाउनुपर्ने मत राखेका थिए भने जीतजंग बस्नेतले संस्थापनसँग झुकेर सम्झौता नगर्ने चेतावनी दिएका थिए ।
सभापति थापाले भने पार्टी एकताका लागि १४औं महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई कुन स्थान दिनुपर्ने हो; आफू तयार रहेका बताएका छन् । उनले भनेका छन्, ‘१४औं महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई केन्द्रीय समितिमा ल्याएर मानका साथ सँगै लिएर काम गर्न चाहन्छु । यो मेरो प्रस्ताव हो । वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, अन्यलाई यथोचित जिम्मेवारी दिन तयार छु । विशेष महाधिवेशनमा आएको थियो वा थिएन भन्ने आधारमा अवसरको वितरण हुँदैन । एउटा निर्णय पनि विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा हुँदैन ।’ थापाले पार्टीको महाधिवेशनका लागि बनाइएका समितिहरूमा पनि को–को राख्दा निष्पक्ष हुन्छ, त्यसमा आफू लचक रहेको बताएका छन् । 
थापाले सार्वजनिक रूपमा पार्टीभित्र आन्तरिक एकताका लागि अपिल गरिरहेपनि इतरपक्ष उनीसँग आश्वस्त देखिएको छैन । पार्टीभित्र एकताका लागि खड्का र कोइरालासँग संवाद गरेको केही दिनपछि उनीहरू निकट केही व्यक्तिलाई थापाले केन्द्रीय समितिमा मनोनयन गरेपछि इतरपक्ष थापासँग सशंकित रहेको बताउँछ । इतरपक्षका नेताहरूले क्रियाशील सदस्यता अद्यावधिक गराउने संस्थापनको आग्रहलाई पनि अटेर गरिररहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्