नेभिगेशन
अर्थतन्त्र

चीन सरकारको ७९.३६ मिलियन युआन अनुदान स्वीकृत

काठमाडौं । सरकारले अरनिको राजमार्ग मर्मतका लागि चीन सरकारको ७९.३६ मिलियन चिनिया युआन अनुदान स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चीनसँग अन्तर्राष्ट्रिय नाका जोडिएको नेपालको यो महत्वपूर्ण सडकको मर्मत तथा सुधार कार्यका लागि चीन सरकारले प्रदान गर्ने यो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । 
यो अनुदान सहायता रकम राजमार्गको भौतिक संरचना सुधार, सडक सतह मर्मत, जोखिमयुक्त खण्डहरूको पुनःनिर्माण तथा दीर्घकालीन यातायात सुरक्षा सुदृढीकरणका लागि उपयोग गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 
चीनसँगको सीमा जोड्ने प्रमुख व्यापारिक तथा यातायात मार्गका रूपमा रहेको अरनिको राजमार्गले विशेष गरी कोदारी–तातोपानी नाका हुँदै नेपालको आयात–निर्यात कार्यका लागि महŒवपूर्ण भूमिका खेल्दै आएको छ । भूकम्प, बाढी–पहिरो तथा नियमित भारी सवारी चापका कारण समय–समयमा क्षति व्यहोर्दै आएको यस मार्गको स्तरोन्नति लामो समयदेखि प्राथमिकतामा रहँदै आएको थियो ।
सरकारी निर्णयअनुसार प्राप्त अनुदान रकममार्फत सडकको कमजोर भागहरूको सुदृढीकरण, पुल तथा कल्भर्टहरूको मर्मत, ढल निकास व्यवस्थापन सुधार र पहिरो जोखिम न्यूनीकरणका संरचनागत कामहरू अघि बढाइनेछ । साथै सडक यातायातलाई अझ सुरक्षित र सहज बनाउन आधुनिक प्राविधिक मापदण्ड अपनाइने भएको छ । 
यस्तै, मन्त्रिपरिषद् बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्र्यांक अनुदान पनि स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्