नेभिगेशन
अर्थतन्त्र

नीतिगत अस्थिरता र कानुनी जटिलताले उद्योग व्यवसाय प्रभावित

काठमाडौं । नेपालमा उद्योग तथा व्यवसाय विस्तारका लागि नीतिगत अस्थिरता, संघीय वित्तीय प्रशासनका जटिलता र कानुनी अवरोध मुख्य चुनौतीका रूपमा देखिएको सरोकारवालाहरूले बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले काठमाडौंमा आयोजना गरेको ‘नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण’ विषयक कार्यक्रममा सहभागी पूर्व प्रशासक, अर्थविद् तथा उद्योगी व्यवसायीले नेपालको आर्थिक संरचना, औद्योगिक अवस्था र सुधारका सम्भावनाबारे विस्तृत छलफलका क्रममा यस्तो बताएका हुन् ।
उनीहरूले आर्थिक गतिविधि सुस्त बन्दै गएको वर्तमान अवस्थामा निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा उद्योग केन्द्रित नीतिगत सुधार अघि बढाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । छलफलका क्रममा सहभागीहरूले संघीय संरचनाअनुसार वित्तीय प्रशासन प्रभावकारी बन्न नसकेको, नीतिगत निर्णयमा निरन्तरता अभाव रहेको तथा लगानीकर्तामा अन्योल बढेको विषय उठाएका थिए । उनीहरूले उद्योग क्षेत्रमा देखिएको सुस्तता हटाउन सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण आवश्यक रहेको बताए ।
कार्यक्रममा उत्पादन, प्रविधि, सेवा तथा व्यापार क्षेत्रका प्रतिनिधिहरूले तरलता अभाव, उच्च ब्याजदर, लगानी सुरक्षाको कमी तथा नीतिगत अस्थिरताले व्यवसाय सञ्चालन कठिन बन्दै गएको गुनासो गरेका थिए । प्रश्नोत्तर सत्रमा सहभागीहरूले लगानीमैत्री वातावरण निर्माण, औद्योगिक पूर्वाधार विस्तार तथा निजी क्षेत्रको सहभागितामा आधारित आर्थिक नीतिको आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको अर्थतन्त्र अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताए । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माणतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने र उद्योग तथा निजी क्षेत्रलाई प्रोत्साहन नगरी आर्थिक सुधार सम्भव नहुने बताए ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्री अनिलकुमार सिन्हाले औद्योगिक विकासमा कानुनी तथा प्रशासनिक प्रक्रियाले अनावश्यक जटिलता सिर्जना गरेको बताए । उद्योग दर्तादेखि सञ्चालनसम्मका प्रक्रियालाई सरल, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
सीएनआईवाइईएफका अध्यक्ष मनिष श्रेष्ठले नेपालको वर्तमान आर्थिक अवस्थाको यथार्थ विश्लेषण नगरी भविष्यको स्पष्ट दिशा तय गर्न नसकिने बताए । अनुभवी नीति निर्माता र युवा उद्यमीबीच सहकार्य र संवादलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत उद्योगी तथा व्यवसायीको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण सीएनआईवाइईएफकी उपाध्यक्ष निदा दुन मल्लले गरेकी थिइन् । मञ्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले आर्थिक तथा औद्योगिक क्षेत्र सुधारका लागि यस्ता गम्भीर छलफल आवश्यक रहेको बताए । उनले विज्ञ तथा सहभागीहरूको योगदानको प्रशंसा गर्दै निजी क्षेत्र र नीति निर्माताबीच निरन्तर संवाद हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्