नेभिगेशन
अर्थतन्त्र

इप्पानको वरिष्ठ उपाध्यक्षका उम्मेदवार लामाले बनाए समावेशी टिम

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामाको उम्मेदवारीसँगै टिम पनि घोषणा भएको छ । नेपालको संविधानले राज्यका विभिन्न निकायहरूमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेकोमा यस व्यावसायिक प्यानलले आफ्नो पदाधिकारी र कार्यसमिति टोलीमा संविधानले तोकेको भन्दा बढी प्रतिशत महिला नेतृत्वलाई समावेश गरेर उनले टिम घोषणा गरेका हुन् ।
व्यावसायिक संस्थाका निर्वाचनहरूमा महिला प्रतिनिधित्वको सवालमा लामाले ३३ प्रतिशत महिला उम्मेदवारलाई समावेश गरेर इप्पानलाई समावेशी बनाउने व्यक्तिको रुपमा आफूलाई उभ्याएका छन् । ‘इप्पानका लागि एक से एक सक्षम महिलाहरु हुनुहुन्छ, उहाँहरु नेतृत्वमा आउँदै हुनुहुन्छ, उहाँहरु सबैलाई सहभागी गराएर हामीले टिम खडा गरेका छौँ,’ लामाले भने, ‘इप्पानमा समावेशीसँगै सक्षम महिलालाई नेतृत्वमा ल्याउने गरी टिम बनाएका छौँ ।’
यस प्यानलमा समावेश गरिएका महिला उम्मेदवार केवल समावेशिताका लागि मात्र नभई जलविद्युत, वित्तीय व्यवस्थापन, बैंकिङ र वातावरणीय न्यायका क्षेत्रमा वर्षौँदेखि ख्याति कमाएका स्थापित र सक्षम व्यावसायिक हस्तीहरू छन् । यस प्यानलबाट उपाध्यक्ष जस्तो गरिमामय र रणनीतिक पदमा सुसान कर्माचार्य (राजभण्डारी) ले उम्मेदवारी दिएकी छन् ।
कर्माचार्य जलविद्युत, वित्त, पूर्वाधार र सामाजिक क्षेत्रमा दुई दशकभन्दा लामो बहुआयामिक नेतृत्व अनुभव भएकी स्थापित उद्यमी हुन् । उनी हाल कास्कीमा सफलतापूर्वक निर्माण सम्पन्न भएको २४ मेगावाटको मादी खोला जलविद्युतको कार्यकारी अध्यक्ष तथा गोरखामा विकास भइरहेको २०३ मेगावाटको माथिल्लो बुढीगण्डकी जलविद्युत आयोजनाको प्रवर्धक संस्था कैलाश इनर्जी प्रालिको अध्यक्ष हुन् । साथै, उनले बागलुङ र लमजुङका विभिन्न मध्यम तथा साना जलविद्युत आयोजनाहरूको सफल नेतृत्व गरिरहेकी छन ।
विगतमा उनले इस्टर्न हाइड्रो (५ मे.वा.) र याम्बालीङ हाइड्रो (७.२७ मे.वा.) आयोजनाहरू समयमै सम्पन्न गराएर आफ्नो कुशल व्यवस्थापकीय क्षमता प्रमाणित गरिसकेकी छन् । उनी वित्तीय क्षेत्रमा मनी प्लान्ट इन्भेष्टमेन्ट कम्पनीको अध्यक्षसमेत हुन् ।
त्यसैगरी, संस्थाको आन्तरिक व्यवस्थापन र सञ्चालनको महत्वपूर्ण कडी मानिने उप–महासचिव पदमा कविता पोखरेल चुनावी मैदानमा छिन् । अर्थशास्त्रमा स्नातकोत्तर गेकी पोखरेलसँग बैंकिङ क्षेत्रमा २३ वर्ष र ऊर्जा उद्योगमा १० वर्ष काम गरेको अनुभव छ । उनी हाल हिमशिला हाइड्रोपावर कम्पनी लिमिटेड र सिर्जनशील ऊर्जा कम्पनी प्रालिको अध्यक्षका रूपमा सक्रिय छिन् भने लिबर्टी इनर्जी र आशा लघुवित्त वित्तीय संस्थाको निर्देशकका रूपमा कार्यरत छिन् ।
पोखरेलले इप्पानभित्र ‘वुमन इन इनर्जी नेपाल’ अभियानको नेतृत्व गर्दै ऊर्जा क्षेत्रमा महिला सहभागिता र लैंगिक समानताका लागि लामो समयदेखि आवाज उठाउँदै आएकी छन् । यस्तै, सचिव पदमा उम्मेदवारी दिएकी सुमन जोशी बैंकिङ र प्रोजेक्ट फाइनान्सिङ (आयोजना वित्तीय व्यवस्थापन) को पृष्ठभूमिबाट आएकी कुशल नेतृत्वकर्ता हुन् । व्यवस्थापन विषयमा एमबीए उपाधि प्राप्त जोशी हाल ह्वाइट लोटस पावर लिमिटेडको कार्यकारी निर्देशक छिन् । उनले हिडी खोला, धौला खोला तथा स्यानबान खोला जलविद्युत आयोजनाहरूको कुशल वित्तीय तथा प्रबन्धकीय नेतृत्व सम्हालिरहेकी छन् ।
कार्यसमिति सदस्यतर्फ पनि अत्यन्तै प्रभावशाली र युवा महिला प्रवर्धकहरूलाई अगाडि सारिएको छ । सदस्य पदकी उम्मेदवार अभिज्ञा मल्ला युनियन हाइड्रोपावर लिमिटेडको अध्यक्ष तथा परिवर्तन नेपालकी अध्यक्ष छिन् । मल्लले दुधकोशी नेपाल हाइड्रो, युनियन मेवा र पुवाखोला–१ जस्ता ठूला आयोजनाहरूमा रणनीतिक नेतृत्व प्रदान गर्नुका साथै नेपालको ऊर्जा पूर्वाधारमा महत्वपूर्ण मानिएको एमसिए–नेपालको वैकल्पिक बोर्ड निर्देशक र नेपालका लागि आर्मेनिया गणतन्त्रको कार्यकारी सचिवका रूपमा समेत भूमिका निर्वाह गरिरहेकी छन् ।
कार्यसमिति सदस्यकै अर्की उम्मेदवार इशा श्रेष्ठ पूर्वाधार र ऊर्जा क्षेत्रमा एक दशकभन्दा बढीको रणनीतिक नेतृत्व अनुभव भएकी ऊर्जा कार्यकारी हुन् । उनी हाल टुन्डी पावर कम्पनी प्रालिको डेपुटी जनरल म्यानेजर छिन्, जहाँ उनले ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजनाको व्यावसायिक रणनीतिको सफल नेतृत्व गरेकी छन् । उनी निलगिरी खोला हाइड्रोपावर कम्पनी (जस अन्तर्गत १०० मेगावाटका आयोजना छन्) को बोर्ड निर्देशक हुनुका साथै नेपाल चेम्बर अफ कमर्सको पूर्व ऊर्जा कार्यसमिति सदस्यसमेत हुन् ।
त्यसैगरी कार्यसमिति सदस्य पदकी चौथो उम्मेदवार प्रतिमा ज्ञवाली पूर्वाधार, नवीकरणीय ऊर्जा विकास, जलवायु उत्थानशीलता र सामाजिक समावेशीकरणको क्षेत्रमा १० वर्षभन्दा बढीको अनुभव भएकी ऊर्जा विज्ञ हुन् । कृषि र व्यावसायिक अध्ययनमा प्राज्ञिक पृष्ठभूमि भएकी ज्ञवाली सिग्नेचर इन्जिनियरिङ प्रालिको प्रबन्ध निर्देशक हुन् । उनी सुम्निमा हाइड्रोपावर, पिखुवा पशुपति हाइड्रो (४.१ मे.वा.) र माथिल्लो पिखुवा खोला (४.९ मे.वा.) आयोजनाको निर्देशक छिन् । सन् २०२४ मा उनले जलवायु–उत्थानशील जीविकोपार्जनसम्बन्धी परियोजनामा लैंगिक तथा सामाजिक समावेशीकरण विज्ञका रूपमा समेत कार्य गरी सीमान्तकृत समुदायको हितमा योगदान पु¥याएकी थिइन् ।
पदाधिकारी र कार्यसमिति दुवै संरचनामा कुल संख्याको ३३ प्रतिशतभन्दा बढी हिस्सा व्यावसायिक, प्राविधिक र वित्तीय रूपमा सक्षम महिलाहरूलाई सुम्पिएर यस प्यानलले नेपालको निजी ऊर्जा क्षेत्रमा ऐतिहासिक पाइला चालेको छ । यो समावेशिता र गुणात्मक नेतृत्वले इप्पानलाई आगामी दिनमा थप आधुनिक, पारदर्शी र सामाजिक रूपमा उत्तरदायी संस्था बनाउने विश्वास गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्