नेभिगेशन
राजनीति
एमाले सचिवालय बैठक

आफ्नैले दिए ओलीलाई राजीनामाको दबाब

महाधिवेशनबाट निर्वाचित भएर आएको तर्क अघि सार्दै राखे पद नछाड्ने अडान

काठमाडौं । राष्ट्रिय राजनीतिमा रक्षात्मक बनिरहेको एमाले पार्टीभित्र नेतृत्व परिवर्तनको विषय उठेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामाको दबाब बढेको छ ।  ओलीको निवास भक्तपुरको गुण्डुमा शनिबार भएको पार्टी सचिवालय बैठकमा अधिकांश सचिवालय सदस्यहरुले ओलीलाई मार्ग प्रशस्त गर्न सुझाएका हुन् । तर, उपाध्यक्ष रामबहादुर थापा बादल र महेश बस्नेतले भने बैठकमा ओलीको प्रतिरक्षा गरेका छन् । 
थापा र बस्नेतले असहज अवस्थामा नेतृत्वको रक्षा गर्नुपर्ने धारणा राखे । यद्यपि विगतमा ओलीलाई साथ दिँदै आएका पदाधिकारीनै सचिवालय बैठकमा ओलीविरुद्ध उभिएका छन् । 
बैठकमा उपाध्यक्षहरु गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल र रघुजी पन्त , उपमहासचिव योगेश भट्टराईलगायत बहुमत सचिवालय सदस्य ओली बहिर्गमनको पक्षमा देखिँदा उपाध्यक्ष बादल र सचिव महेश बस्नेतले मात्रै ओलीको पक्षमा धारणा राखेका थिए । पौडेल र गुरुङ ओली समूहबाटै उपाध्यक्ष निर्वाचित भए पनि अहिले कित्ता परिवर्तन गरेका छन् । महासचिव शंकर पोखरेल पनि ओलीको विकल्पकै पक्षमा देखिएको एक सचिवालय सदस्यले बताए । उनका अनुसार पोखरेलले यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने धारणा बैठकमा राखेका छन् । 
तर ओलीले आफू चुनाव जितेर अध्यक्ष भएको भन्दै राजीनामा नदिने जवाफ फर्काएको एक पदाधिकारीले बताए । एमालेको गत मंसिर अन्तिम साता काठमाडौंमा सम्पन्न ११औं महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित भएका थिए । ६ महिना नबित्दै एमालेमा ओलीको विकल्प खोजिएको हो । 
उपमहासचिव लेखराज भट्ट भने द्विविधामा देखिएका छन् । उनले न ओलीको राजीनामा माग गरे, न त पूर्ण समर्थन नै गरे । शनिबार बैठकबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले ओलीको कार्यशैलीमा प्रश्न उठेको स्वीकार गर्दै राजीनामा भने नमागिएको दाबी गरे । ‘म जुन स्कुलिङबाट आएको छु, मलाई के लाग्छ भने बैठकभित्र विभिन्न प्रवृत्तिहरू आउँछन् र ती प्रवृत्तिमा बोल्ने, भन्ने वा लागेका विषयवस्तुहरू हुन्छन् । तर, पार्टीको जुन मुख्य लाइन हो, त्यो लाइनभन्दा बाहिर बोल्नुहुन्न भन्ने मलाई लाग्छ,’ उनले सञ्चारकर्मीहरुसँग भने, ‘आजको बैठकको भाव पनि हाम्रो पार्टीभित्र जे समस्या छ, त्यसको समाधान अध्यक्षकै नेतृत्वमा गरेर फेरि उहाँकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने नै थियो भन्ने मेरो बुझाइ छ । पार्टीका कमीकमजोरी कहाँ–कहाँ छन् ? त्यसको समीक्षा गरेर जहाँ सच्याउनुपर्ने हो र जस–जसका कमजोरी छन् ? तिनलाई हटाएर पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’
जेनजी आन्दोलन, त्यसपछि निर्वाचनमा बेहोरेको पराजयमा ओली नै कारण रहेको निष्कर्षमा रहेको असन्तुष्ट पक्षले ओलीलाई पार्टी बचाउनका लागि पनि राजीनामा दिन सुझाव दिएका छन् । 
सचिवालय बैठकमा मात्र होइन, एमालेकै अरु नेताहरुले पनि ओलीको राजीनामा माग्न थालेका छन् । पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गुण्डुमा सचिवालय बैठक जारी रहेकै बेला ओलीको राजीनामा माग गरेकी छन् । एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसकेको भन्दै कार्यकर्ताको भावना बुझ्न ओलीलाई उनको आग्रह छ । ‘निर्वाचन पश्चात गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ । पुन नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पु¥याउन सकिन्छ । अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच । म उस्तै देख्छु,’ शाक्यले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्दै लेखेकी छन्, ‘बलिदानको रगतले जन्मेको पार्टी हो एमाले । लाखौं कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले । यो पार्टी तपाईंको मात्र पेवा होइन । एमाले तपाईंको गुटको कम्पनी पनि होइन । त्यसैले कमरेड श्वास रहुन्जेल अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ ।’ उनले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्ने भन्दै सचिवालय बैठकबाट स–सम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुने सुझाव दिएकी छन् । 
बैठक आइतबार ११ बजेका पुनः बस्नेछ । बैठकमा ४ सचिवले धारणा राखेपछि ओलीले बोल्नेछन् । 
अघिल्लो संसदको दोस्रो ठूलो दल एमाले फागुन २१ को चुनावपछि ९ सिट मात्रै जितेको थियो । अधयक्ष ओलीसहित अधिकांश पदाधिकारी पराजित हुँदा समानुपातिक सिट पनि घटेर जम्मा १६ जना सांसद भएका छन् । जेनजी आन्दोलनलगत्तै महाधिवेशनबाट अध्यक्ष बनेका ओलीको ६ महिना नबित्दै सचिवालय बैठकमा राजीनामा मागिनुलाई राजनीतिकवृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्