नेभिगेशन
प्रदेश

रास्वपा सांसदमाथि बारामा आक्रोस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सांसदमाथि एक समूहले आक्रोस पोखेको छ । बाराको कलैयामा शनिबार आयोजित बैठकमा विवाद हुँदा कार्यक्रममा सहभागी सांसदमाथि आक्रमण प्रयास भएको हो । रास्वपा बाराका जिल्ला संयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले कार्यक्रममा होहल्ला गर्दै सांसदहरुमाथि आक्रमण प्रयास गरेका थिए । सो क्रममा प्रहरीले सांसदहरुलाई सुरक्षित बैठक हलबाट बाहिर निकालेको थियो । 
जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट पक्षले निर्वाचित सांसदहरूविरुद्ध प्रदर्शन गरेपछि विवाद शुरु भएको थियो । बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह पार्टीको विस्तारित बैठकमा सहभागी हुन पुगेका थिए । 
‘केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला अधिवेशनमा सुझाव संकलनका लागि आएका थियौं । कारवाहीमा परेका केही नेताहरुले सामान्य विवाद झिकेका हुन् । अहिले सबै समाधान भइसक्यो,’ सांसद अन्सारीले भने,‘नियोजित रुपमा केही पार्टी निकटका मिडियाहरुले घट्नालाई अतिरञ्जित गर्न खोजे । हिडिरहेको दृश्यलाई कैद गरेर लखेटिएको भनेर मिडियाबाजी मात्र भएको हो ।’ 
खासगरी पार्टीबाट निष्कासित व्यक्तिहरूले होहल्ला गर्न खोजेको उनको भनाइ छ । पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्