नेभिगेशन
अर्थतन्त्र

वित्तीय संस्थाका कर्मचारीलाई ओभरटाइम भत्ता अनिवार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको ओभरटाइम अधिकार सुनिश्चित हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अतिरिक्त समयमा काम गराएबापत अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम भत्ता) उपलब्ध गराउन निर्देशन जारी गरेको हो ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैशाख ३१ गते नेपाल राष्ट्र बैंकलाई श्रम ऐन २०७४ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि नेपाल राष्ट्र बैंकले जेठ ८ गते ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन २०८२ संशोधन गर्दै अतिरिक्त कार्यालय समयसम्बन्धी स्पष्ट व्यवस्था गरेको हो ।
संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले अतिरिक्त समयमा काम गराउँदा प्रचलित कानुनबमोजिम ओभरटाइम भत्ता दिनुपर्नेछ । साथै कुनै पनि कर्मचारीलाई अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने र श्रम ऐन तथा श्रमिक अधिकारको पूर्ण पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पनि नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै बैंक तथा वित्तीय संस्थामा कार्यरत श्रमिक, सुरक्षा गार्ड तथा आउटसोर्सिङमार्फत कार्यरत जनशक्तिको न्यूनतम पारिश्रमिक, सेवा सुविधा र श्रम कानुनको कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको थियो ।
नेपाल राष्ट्र बैंकको यो निर्णयलाई श्रम ऐन कार्यान्वयनको दृष्टिले महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । लामो समयदेखि अतिरिक्त समय काम गरे पनि उचित पारिश्रमिक नपाउने समस्याबाट बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत हजारौं कर्मचारी लाभान्वित हुने अपेक्षा गरिएको छ । श्रमिकको समय र श्रमको सम्मान गर्दै ओभरटाइमको कानुनी अधिकार सुनिश्चित गराउन युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले पहल गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्