नेभिगेशन
अर्थतन्त्र

‘महिला उद्यमशीलता विकासलाई प्राथमिकता दिनुपर्छ’

काठमाडौं । नेपाल महिला चेम्बरद्वारा महिला उद्यमशीलता बारेमा आयोजित छलफलमा सहभागी महिला उद्यमिहरुले उद्यमशीलता विकास माथि जोड दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटको पूर्वसन्ध्यामा आयोजित छलफल कार्यक्रममा सहभागी महिला उद्यमीले महिला उद्यमशीलताको प्रवर्धन, क्षमता विकास तथा व्यवसाय विस्तारका लागि विशेष नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा राखेका हुन् ।
कार्यक्रमका सहभागीले महिला उद्यमशीलतासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार तथा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्सबीच समन्वय र सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा महिला उद्यमशीलता प्रवर्धनका लागि विशेष प्याकेज समावेश गर्न सरकारलाई सुझाव दिएको जानकारी दिए । उनले महिलाको आर्थिक सशक्तीकरणले समग्र राष्ट्रिय अर्थतन्त्रलाई समेत सकारात्मक दिशा दिने उल्लेख गरे ।
त्यसैगरी नेपाल महिला चेम्बरकी अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीले भोगिरहेका समस्या समाधान तथा प्रवर्धनात्मक कार्यक्रममार्फत महिलालाई थप प्रेरित गर्न नेपाल महिला चेम्बरले निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले महिला उद्यमीको पहुँच वित्तीय स्रोत, बजार तथा तालिमसम्म सहज बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राखिन् ।
कार्यक्रममा विभिन्न महिला उद्यमी, साझेदार सहयोगी तथा स्वयंसेवीहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्रा, उपाध्यक्षहरु दिपक श्रेष्ठ, सन्तोषकुमार पाण्डे, सुरेन्द्रकुमार श्रेष्ठ, अर्जुनप्रसाद शर्मा र नेपाल महिला चेम्बरकी उपाध्यक्ष स्वरुपा श्रेष्ठ एवं सचिव ईरा प्रसाईंलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्