नेभिगेशन
अर्थतन्त्र

महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । महासंघको केन्द्रीय कार्यालय टेकुमा सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र संघाई र हेमराज ढकालले मनोनयन गर्दा गरेकोमा ढकालले अन्तिम समयमा उम्मेवारी फिर्ता लिएका थिए ।
त्यसैगरी, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलको उम्मेदवारी परेको थियो । महासंघको विधान २०४९ (सातौं संशोधन सहित) को दफा २९.५ र २९.८ बमोजिम वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिएको हो ।

६ केन्द्रीय सदस्य मनोनित
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई जना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी छन् । 
महासंघको विधान धारा २९ को (च) १० को व्यवस्थाअनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुई जना महिलासहित ७ सदस्य मनोनित गर्न पाउने प्रावधान छ । सोही प्रावधानबमोजिम अध्यक्ष श्रेष्ठले ६ जना सदस्य मनोनित गरेका हुन् । विधानतः बाँकी रहेको एक सदस्य पदमा भने मनोनय गर्न बाँकी छ ।  
नवनिर्वाचित तथा मनोनित पदाधिकारी एवं सदस्यहरूलाई अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराए । उनले निजी क्षेत्रको व्यावसायिक हकहित र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । उनले देशभरका उद्योगी व्यवसायीका मागहरू सम्बोधन गर्दै आर्थिक समृद्धि र विकासका लागि महासंघ सक्रिय रहने धारणा राखे ।
महासंघको वैशाख २१ र २२ मा सम्पन्न ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनपश्चात् विधानको २९.३ को (वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने) व्यवस्थाअनुसार श्रेष्ठ महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । २०८१ मंसिरमा गरिएको सातौं संशोधनअनुसार यस कार्यकालका लागि मात्र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान लागू गरिएको थियो । संशोधित विधानमा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था नभई साधारण सभाबाट प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्