नेभिगेशन
अर्थतन्त्र

जलाशययुक्त आयोजना अघि नबढेकामा महालेखाको प्रश्न

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकोमा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ ।
हरेक वर्ष एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, ७७० मेगावाट क्षमताको दूधकोशी, ४१७ मेगावाट क्षमताको नलसिंहगाड र २८० मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण सुरु हुन सकेको छैन ।
वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा अगाडि बढाउने भनिएको ७७.५ मेगावाट क्षमताको घुन्सा, ७०.३ मेगावाट क्षमताको सिम्बुवा निर्माण अगाडि बढाउने गरी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना बजेट अभावले सुरु हुन नसकेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा समावेश छ । दूधकोशी जलविद्युत् आयोजनाको लगानीको प्रारुप तय हुन नसकेको, नलसिंहगाड, सिम्बुवा र नौमुरे जलविद्युत् आयोजनाको खरिद पूर्वका कार्य सम्पन्न नभएकाले निर्माण सुरु हुन नसकेको पाइएको छ ।
राष्ट्रिय गौरवका योजना र रुपान्तरणकारी योजनाका तोकिएका लक्ष्य पूरा नभएको, आयोजनाको वर्गीकरणको आधार तथा मापदण्डको पूर्ण कार्यान्वयन नभएको पाइएको छ ।
यस्तै, बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले ठेक्का अन्त्य गरी निर्माण व्यवसायीबाट असुल गर्ने निर्णय भएको क्षतिपूर्तिसहित दुई करोड चार लाख ७४ हजार असुल नगरेको लेखापरीक्षणबाट देखिएको छ । मन्त्रालय मातहतका १३ निकायअन्तर्गतका ६६ निर्माण एक अर्ब ३३ करोड ५३ लाखको कार्य सम्पन्न भई अधुरो रहेको छ ।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाको लम्की मूल नहरअन्तर्गत शाखा नहर निर्माण सुरु गर्ने, महाकाली सिँचाइ आयोजानको तेस्रो चरणको त्रिभुवन बस्तीलगायत शाखा नहर विस्तार अगाडि बढाउने लक्ष्य राखिएको भए पनि स्रोत सहमति प्राप्त हुन नसक्दा निर्माण कार्य सुरु नभएको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा समावेश छ ।
मध्य तराईका पाँच जिल्लाका एक लाख २२ हजार हेक्टर जमिनमा भरपर्दो सिँचाइ सुविधा पु¥याउन अगाडि बढाइएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडबक्र्स, पावर हाउसलगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएको भए पनि ती काम अगाडि बढ्न सकेको छैन ।
 
राष्ट्रिय गौरवका आयोजनाको लागत बढ्यो
प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनाहरुको लागत बढ्न गएको छ । मन्त्रालय मातहत विभिन्न ६ वटा राष्ट्रिय गौरवका आयोजना छन् । सुरु लागत अनुमाान एक खर्ब एक अर्ब ८३ करोड रहेकोमा ११३ प्रतिशतसम्म वृद्धि भएको छ ।
वृद्धिपछि लागत अनुमान दुई खर्ब १७ अर्ब १६ करोडबराबर पुगेको छ । हालसम्म ती आयोजनामा एक खर्ब चार अर्ब ९२ करोड बराबर खर्च भएको छ । तर, भौतिक प्रगति भने न्यूनतम २६.६५ प्रतिशत र अधिकतम ८२.२७ प्रतिशत मात्रै भएको छ ।
सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थल र विद्युतगृहको ठेक्का सम्झौता अन्त्य भए पनि हालसम्म नयाँ ठेक्का लाग्न सकेको छैन । ऊर्जातर्फको बूढीगण्डकी जलविद्युत् आयोजनाको सुरुआती लागत दुई खर्ब ६० अर्ब रहेकामा संशोधित लागत तीन खर्ब ९८ अर्ब दुई करोड कायम भएको छ । यो लागतसमेत थप बढ्ने देखिन्छ । सो आयोजनामा ४५ अर्ब ११ करोड बराबरको रकम मुआब्जा वितरण भइसकेको छ । लगानी मोडालिटी तय भए पनि निर्माण सुरु हुन सकेको छैन ।
जग्गा विवाद, वित्तीय प्रारुप समयमा टुंगो नलाग्नु, बजेट अभाव हुनु, वनसम्बन्धी समस्या, कार्ययोजनाअनुसार काम हुन नसक्नुलगायतका कारणले ठूला आयोजनामा अपेक्षित प्रगति हुन सकेको छैन । सोही कारण आयोजनाको समय र लागत दुवै बढ्न गएको छ ।     
आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने, अनुमगन र अन्तरनिकाय समन्वय, बजेट सुनिश्चितता लगायतका विषयलाई ध्यान दिई कार्यसम्पादन सम्झौताको कार्यान्वयन स्थिति मूल्यांकन गरी निर्धारित समय, लागत र गुणस्तरमा आयोजना सम्पन्न गर्नुपर्नेमा महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
     
प्रसारण लाइनको प्रगति न्यून
प्रतिवेदनअनुसार कर्णाली करिडोर ४०० केभी प्रसारण लाइनको प्रगति २४.२८ प्रतिशतमात्रै रहेको छ । भेरी करिडोर ४०० केभी प्रसारण लाइनको २.०१ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । किमाथांका अरुण हव ४०० केभी प्रसारण लाइनको २.७७, पश्चिम सेती नयाँ अत्तरिया ४०० केभी प्रसारण लाइनको प्रगति ०.८९ प्रतिशत बराबरमात्रै भएको छ ।   
तमोर हब चाँगे ढुंगे साँघु २२० केभी प्रसारण लाइनको प्रगति पनि मात्रै २.६३ प्रतिशतमात्रै भएको छ । रुपान्तरणकारी आयोजनाअन्तर्गत ऊर्जा मन्त्रालयका दुई अन्तरदेशीय र १६ राष्ट्रिय प्रसारण लाइन आयोजना कार्यान्वयनमा छन् ।   
लमाबगर बाह्रबिसे प्रसारण लाइन १.११, शीतलपाटी ढुंगेसाँघु प्रसारण लाइनको प्रगतिमात्रै ०.२१ प्रतिशत बराबर छ । अधिकांश आयोजनामा जग्गा प्राप्ति, वनको समस्या तथा रुख कटानमा ढिलाइलगायतका कारणले कार्य प्रगतिमा बिलम्ब भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्