नेभिगेशन
अर्थतन्त्र

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउनका लागि गृहकार्य भइरहेको बताएकी छन् । मकवानपुरको हेटौंडास्थित औद्योगिक क्षेत्रको निरीक्षणमा पुगेकी मन्त्री यादवले कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको बताएकी हुन् ।
उद्योग क्षेत्र निरीक्षणपश्चात् मन्त्री यादवले यो कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन धमाधम काम अगाडि बढाउने प्रतिबद्धता जनाइन् । यस्तै, मयुरधाप औद्योगिक क्षेत्रको जग्गा विवाद सुल्झाएर तत्काल सञ्चालनमा ल्याइने पनि उनले बताइन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गासम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण कार्य अगाडि बढाइने भएको हो ।
लामो समयदेखि चर्चामा रहे पनि मयुरधाप औद्योगिक क्षेत्रको जग्गा हालसम्म पनि उपयोगमा आउन सकेको छैन । यो औद्योगिक क्षेत्रको जग्गा मध्यवर्ती वन क्षेत्रभित्र परेका कारण कानुनी र व्यावहारिक अड्चन उत्पन्न भई हालसम्म कुनै पनि भौतिक वा प्रशासनिक कदम अगाडि बढाउन सकिएको थिएन ।
यस्तै, मन्त्री यादवले शनिबार नै नेपाल आयल निगमको अमलेखगन्जस्थित डिपोको पनि निरीक्षण गरेकी छन् ।  डिपो निरीक्षणका क्रममा निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहसहितको टोलीले मन्त्री यादवलाई निगमको हालको अवस्था, भण्डारण क्षमता र आपूर्ति व्यवस्थाबारे विस्तृत जानकारी गराएको थियो ।
अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको परिस्थितिबीच भएको यस निरीक्षणका क्रममा मन्त्री यादवले मूल्यवृद्धिको असर कम गर्न वैकल्पिक उपायहरू खोज्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्