नेभिगेशन
अर्थतन्त्र

रोमानियामा बढ्दो नेपाली आप्रवासनमा श्रम शोषणको जोखिम

काठमाडौं । युरोपियन मुलुक रोमानियामा बढ्दो नेपाली श्रम आप्रवासनसँगै देखिएका अवसर र शोषणका चुनौतीबारे सरोकारवालाहरूले चासो देखाएका छन् । ‘रोमानियातर्फ नेपाली श्रमिक, अवसर र शोषण’ विषयक अन्तक्र्रियाका सहभागीले नेपाली श्रमिकले भोगिरहेका समस्या, आप्रवासन शासन र श्रम नीतिमा सुधारको आवश्यकतामाथि जोड दिएका हुन् । 
कार्यक्रममा दलरुक्षी हनडुनेट्टीले गल्फ मुलुकतर्फको आप्रवासन परम्परागत रूपमा अस्थायी श्रम र स्वदेश फिर्तीसँग सम्बन्धित रहेको उल्लेख गर्दै रोमानियातर्फको आप्रवासन भने नयाँ र विस्तारोन्मुख प्रवृत्ति भएकाले यसबारे थप अनुसन्धान र नीतिगत बहस आवश्यक रहेको बताइन् । उनले गल्फ र युरोपेली मुलुकतर्फको आप्रवासनबीचको भिन्नता तथा प्रभावबारे पनि चर्चा गरिन् । 
त्यसैगरी, इयुलिया हाउले रोमानियामा नेपालीसहित आप्रवासी श्रमिकको संख्या बढ्दै गएको उल्लेख गर्दै उनीहरूले आर्थिक ठगी, भ्रामक भर्ती प्रक्रिया, श्रम शोषण र सम्बन्धित निकायबाट बेवास्ताजस्ता समस्या भोगिरहेको बताइन् । उनले गैरदर्ता माध्यमबाट विदेश जाने क्रम बढेकाले श्रमिकहरू शोषण र कानुनी असुरक्षाप्रति अझ संवेदनशील बनेको उल्लेख गरिन् ।
उनले रोजगारदाता र श्रमिकबीचको शक्ति असन्तुलनका कारण धेरै श्रमिक उचित कानुनी संरक्षण र संस्थागत सहयोगबाट वञ्चित रहेको बताइन् । साथै, धेरै नेपाली श्रमिकले रोमानियालाई पश्चिम युरोप प्रवेशको ‘स्टेपिङ स्टोन’ का रूपमा प्रयोग गरिरहेको उल्लेख गर्दै सुरक्षित वातावरण र प्रभावकारी श्रम व्यवस्थापन भएमा उनीहरू दीर्घकालीन रूपमा रोमानियामै बस्न इच्छुक हुन सक्ने धारणा राखिन् ।
छलफलमा सहभागीहरूले नेपाली श्रमिकको सुरक्षा र अधिकार सुनिश्चित गर्न सशक्त आप्रवासन शासन, भर्ती प्रणालीको प्रभावकारी नियमन तथा संस्थागत संयन्त्रको सुदृढीकरण आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्