नेभिगेशन
प्रदेश

होमस्टे सञ्चालकलाई सत्कार तालिम

पोखरा । होमस्टे अर्थात् घरबास सञ्चालन गर्दै आइरहेका लमजुङका महिलाहरूको लागि आतिथ्यता सत्कार, अतिथि कक्ष व्यवस्थापन (हाउस किपिङ) र नृत्यसम्बन्धी प्रशिक्षण सुरु भएको छ । 
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना, गाउँ पर्यटन प्रवर्धन मञ्च भिटोफ गण्डकीको सहआयोजना एवं लमजुङको बेसीसहर–४ पुरानकोटमा रहेको सामदायिक होमस्टेको आयोजनामा शुक्रबारबाट तीनदिने तालिम सुरु भएको हो । तालिममा लमजुङका तीन वटा गाउँमा महिलाहरूको सहभागिता छ । 
तालिमको शनिबार गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यसोदा रिमालले उद्घाटन गरिन् । गाउँमै मान्छे थामिने अवस्था सिर्जना गर्न तथा महिलाहरूलाई आर्थिक उपार्जनको बाटोमा अगाडि बढाउन होमस्टे कार्यक्रमले सघाएको बताइन् । गाउँमा पुग्ने पर्यटकले फर्कँदा त्यहीँ गाउँको उत्पादन लिएर जाने वातावरण निर्माण गर्नुपर्नेमा उनको जोड थियो । गण्डकी प्रदेश सरकारले यसअघि सुरु गरेका होमस्टेहरूको स्तरोन्नतिको लागि अभियान सुरु भएको पनि उनले बताइन् । 
‘हामी यसअघि सूचीकृत भएका हौ स्टेहरूको स्तरीकरण गर्ने अभियानमा छौं,’ मन्त्री रिमालले भनिन्, ‘स्तरीकरणपछि अभिलेख राखिन्छ । त्यसको डिजिटल प्रचार सामग्री बनाउने हो । अब तपाईंहरू पर्यटक खोज्न जाने हैन, पर्यटक नै आफूले चाहेको ठाउँ खोजेर आउने अवस्था सिर्जना गर्ने हो ।’
होमस्टेलाई सहर र विदेश गएका नागरिकलाई गाउँ फर्काउने माध्यम बनाउने दिशामा प्रदेश सरकार अगाडि बढेको पनि उनले सुनाइन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पर्यटकीय गाउँहरूलाई अझ सुव्यवस्थित बनाउन, गाउँले महिलाहरूलाई आतिथ्यता तथा घर चिटिक्क पारेर राख्न सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
‘गाउँहरूलाई बजारसँग जोड्ने नै हो, गाउँमा पर्यटक आएपछि खुसी भएर फर्कने गरी आतिथ्यता पस्कन सके त्यो सम्भव छ,’ उनले भने, ‘नेपाल पर्यटन बोर्ड उद्यम गर्न चाहनेहरूको सवलीकरणमा सघाउन सदैव तयार छ ।’
उद्घाटन कार्यक्रमकी विशेष अतिथि बेसींसहर नगरपालिकाकी उपमेयर पद्मा गुरुङले होमस्टेहरूले नेपालमै बसेर केही हुँदैन भन्नेहरूलाई जवाफ दिइरहेको बताउँदै स्थानीय उत्पादन बढाउने र त्यसको प्रवर्धन गर्दै होमस्टेहरू सञ्चालन गरिनुपर्ने धारणा राखिन् । उनले गाउँमा आएका पाहुनालाई रैथाने परिकार खुवाउनुपर्नेमा जोड दिँदै भनिन्, ‘गाउँमा आएर उही बेंसीसहरमा पाइने बोइलर कुखुराको मासु खुवाएर हुँदैन, गाउँको अर्गानिक उत्पादन खुवाउनुपर्छ ।’ त्यसका लागि नगरपालिकाले सघाउने उनको भनाइ थियो । 
बेंसीसहर–४ का वडाध्यक्ष गमबहादुर गुरुङले गाउँसम्म पुग्ने बाटो राम्रो हुँदामात्र होमस्टे फस्टाउने धारणा राखे । कार्यक्रम तथा भिटोफ गण्डकीकी अध्यक्ष शोभा सापकोटाले होमस्टे नेपाली पर्यटन उद्योगको महŒवपूर्ण खम्बा रहेको बताउँदै त्यसमा संलग्नहरूको सबलीकरणले राष्ट्रिय अर्थतन्त्र नै बलियो बनाउने धारणा राखिन् । 
भिटोफका पूर्वअध्यक्ष रवीन्द्र पौडेलले होमस्टे सबलीकरणका लागि राज्यले सघाउनुपर्ने धारणा राखे । भिटोफका उपाध्यक्ष रमेश घिमिरेको सञ्चालन रहेको कार्यक्रममा प्रशिक्षक डा. रामजी शर्मा, पुरानकोट सामुदायिक होमस्टेकी अध्यक्ष कन्याकाशी गुरुङलगायतले बोलेका थिए । पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाका अनुसार तालिमअन्तर्गत स्थानीय होमस्टे सञ्चालकहरूलाई प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्