नेभिगेशन
अर्थतन्त्र

‘फिन इलेक्ट्रो–टेक’ जेठ २२ देखि

काठमाडौं । विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ देखि २५ सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको हो ।
महासंघले विज्ञप्ति जारी गरी नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेको सन्दर्भमा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
प्रदर्शनीमार्फत उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराइने जनाइएको छ । साथै, यसले नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादन प्रवर्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यावसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल तथा कण्डक्टर, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरू प्रदर्शन गरिनेछ ।
आयोजकका अनुसार प्रदर्शनी अवलोकनकर्ताका लागि आधुनिक प्रविधि, सुरक्षित तथा गुणस्तरीय सामग्री, ऊर्जा बचत समाधान तथा बजारमा उपलब्ध नयाँ उत्पादनबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर हुनेछ । एउटै स्थलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन तुलना गर्न, प्राविधिक जानकारी लिन तथा नयाँ प्रविधिको अनुभव गर्न सकिने व्यवस्था गरिएको छ । प्रदर्शनीले सुरक्षित विद्युतीय सामग्री प्रयोगबारे आम उपभोक्तामा सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्