नेभिगेशन
अर्थतन्त्र

विदेशी पर्यटकको सुरक्षाका लागि ट्रयाकिङ प्रणाली

काठमाडौं । अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सम्बन्धी छलफल तथा अभिमुखीकरण गरेको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र होटल संघ नेपालको समन्वयमा नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।
अध्यागमन विभागका अनुसार नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण तथा सम्भावित अपराध नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले यो प्रणाली विकास गरिएको हो । विभागले पहिलो चरणमा २०८२ पुस १७ देखि काठमाडौं उपत्यकाका तारे होटलहरूमा र दोस्रो चरणमा २०८२ फागुन १७ देखि देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी, मनी एक्सचेन्जलगायतका संस्थामा प्रणाली लागू गरिसकेको जनाएको छ ।
कार्यक्रममा हालसम्म प्रणालीमा दर्ता नभएका उपत्यकाभित्रका तारे होटल, गेस्ट हाउस तथा रिसोर्टहरूलाई दर्ता प्रक्रियामा सहभागी गराउने, प्रणाली सञ्चालनबारे जानकारी दिने तथा दर्ता कार्यलाई सहजीकरण गर्ने विषयमा छलफल गरिएको थियो । 
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नेपालको आतिथ्यता विश्वभर परिचित रहेको उल्लेख गर्दै यही कारण ४० प्रतिशतभन्दा बढी पर्यटकले नेपालमा पुनः भ्रमण गर्ने गरेको बताए । उनले नेपालको पर्यटन विकासमा होटल, रिसोर्ट तथा होमस्टे क्षेत्रको महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे ।
सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट नेपालको पर्यटन क्षेत्र विस्तार हुँदै आएको उल्लेख गर्दै घिमिरेले प्रणालीको प्रभावकारी प्रयोगले पर्यटकको भ्रमणलाई अझ सुरक्षित बनाउनुका साथै सेवा प्रवाहमा गुणस्तर बढाउने विश्वास व्यक्त गरे ।
साथै, सम्बन्धित संस्थाका व्यवस्थापक तथा प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो । अध्यागमन विभागले पर्यटन क्षेत्रसँग आबद्ध सबै संस्थालाई प्रणालीमा आबद्ध भई विदेशी पर्यटकको विवरण व्यवस्थापनलाई व्यवस्थित र विश्वसनीय बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्