नेभिगेशन
अर्थतन्त्र

१६६ मेगावाटको सुपर तमोरमा ६ बैंकको १९ अर्ब लगानी

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनामा ६ वटा बैंकले १९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । क्रिस्टल पावर डेभलपमेण्ट प्रालिले निर्मण गर्न लागेको आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ तथा सिद्धार्थ, लक्ष्मी सनराइज र प्रभु बैंक सह–अगुवाइ एवं कृषि विकास र नेपाल एसबिआई बैंकको सह–वित्तीयकरणमा ऋण लगानी व्यवस्थापन सुनिश्चित भएको हो ।
आयोजना निर्माण गर्न बैंकहरूसँग बुधबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको प्रवर्धक कम्पनीका प्रबन्धक प्रकाश घिमिरेले बताए । उनका अनुसार बैंकहरूले आयोजनामा बैंकहरूले गर्ने ऋण लगानी कुल लागतको ७५ प्रतिबद्ध हो । 
‘आयोजना निर्माण सम्पन्न गर्न २५ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ,’ उनले भने, ‘कुल लागतको २५ प्रतिशत लगानी बराबरको रकम बैंकहरूले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । थप ६ अर्ब ४० करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।’
आयोजनामा अगुवाइ गरेको ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, सह–अगुवाइ गरेका सिद्धार्थ र लक्ष्मी सनराइज बैंकले पनि ४–४ अर्ब रुपैयाँ ऋण लगानी गर्ने गरी प्रवर्धक कम्पनीसँग वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको घिमिरेले बताए । 
यस्तै, प्रभु बैंकले ३ अर्ब ५० करोड, कृषि विकास बैंक १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंक १ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । घिमिरेका अनुसार थप २५ प्रतिशत हुन आउने ६ अर्ब ४० करोड रुपैयाँबराबरको लगानी संस्थापक तथा अन्य लगानीकर्ताबाट शेयर लगानीका रूपमा जुटाइनेछ ।
यो आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ । पिपिए अनुसार आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउनेछ । 
अहिले आयोजना स्थलमा संरचनाको निर्माण सुरु गर्नुअघिका पूर्वतयारीका कामहरू भइरहेको घिमिरेले जानकारी दिए । प्रवर्धक कम्पनीले आयोजनाको बाँध विद्युतगृह तथा सर्जट्यांक क्षेत्रमा पहुँच सडक निर्माण गरिसकेको छ । पूर्व तयारीको कामअन्तर्गत आयोजनास्थलमा कार्यालय, कामदार तथा कर्मचारीहरुको बसोबासका लागि आवास क्षेत्र, निर्माण सामग्रीहरु भण्डारण गरिने घर, वर्कसप, आर्मी क्याम्प तथा बंकर निर्माणको कार्य भइरहेको कम्पनीले जनाएको छ । पूर्वतयारीका काम सम्पन्न गरी आयोजनाको भौतिक संरचनाको निर्माण सुरु गर्ने कम्पनीको योजना छ ।
यो आयोजना २५.५ घनमिटर प्रति सेकेण्ड पानी उपयोग गर्ने गरी डिजाइन गरिएको छ । यसको हेड ७६२ मिटर छ । आयोजनाको संरचनामा ५० मिटर लामो बाँध निर्माण गरी ६ किलोमिटर लामो मुख्य सुरुङमार्फत पानी लगेर भर्टिकल साफ्ट÷पेनस्टक मार्फत विद्युतगृहमा पानी पु¥याई विद्युत उत्पादन गरिनेछ । उत्पादित विद्युत आयोजनाको विद्युतगृहबाट ८ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निर्माणाधीन मार्गेन सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरिनेछ ।  
आयोजनाबाट वार्षिक ९८३.१३ गिगावाट आवर विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । अध्ययनअनुसार उत्पादित विद्युतमध्ये ३०.८५ प्रतिशत सुक्खायाममा तथा ६९.१५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । आयोजना सञ्चालनमा आएको पहिलो वर्षमा विद्युत बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्