सोलुखुम्बु । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार साथै लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका बोर्ड मेम्बर लायन् सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गरेका छन् । उनले जेठ ९ गते बिहान ७ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उपलब्धि हासिल गरेका हुन् । यी सँगै लायन्सको झण्डा पनि फहराएका छन्। सिन्धुपाल्चोकको दुर्गम भोटाङ गाउँमा जन्मिएका वाइबा पछिल्लो समय हिमाल, चलचित्र र दृश्य कथामार्फत हिमाली जीवनलाई विश्वसामु चिनाउने युवाका रूपमा चिनिएका छन् ।उनले आफ्नो तेस्रो सगरमाथा आरोहणलाई केवल शिखर चुम्ने यात्रामात्र नभई संघर्ष, त्याग, धैर्य, कृतज्ञता र आत्मविश्वासको प्रतीक भएको बताए ।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वाइबाले सगरमाथा, मनास्लु र शिशापाङ्मा जस्ता आठ हजार मिटरभन्दा अग्ला हिमालहरूले आफूलाई शक्ति, विनम्रता र जीवनका गहिरा पाठ सिकाएको उल्लेख गरेका छन् ।
‘हरेक सफल आरोहणको पछाडि मौन संघर्ष, खराब मौसम, जोखिमपूर्ण यात्रा, प्रार्थना र टिमको साथ हुन्छ,’ उनले उल्लेख गरेका छन् । वाइबाले आफ्नो सफलताका लागि ‘इम्याजिन नेपाल’ टोली तथा चर्चित पर्वतारोही मिङ्माजी शेर्पाप्रति विशेष आभार व्यक्त गरे । उनका अनुसार मिङ्माजीको नेतृत्व, विश्वास र सहयोगबिना यो यात्रा सम्भव हुने थिएन ।
मिङ्माजी शेर्पा नेपालका चर्चित उच्च हिमाली गाइड तथा ‘इम्याजिन नेपाल’का संस्थापक हुन् । उनले सन् २०२१ मा नेपाली टोलीसँगै के–टुको पहिलो हिउँदे आरोहणसहित विभिन्न अन्तर्राष्ट्रिय कीर्तिमानी अभियानको नेतृत्व गरिसकेका छन् ।
पर्वतारोहणसँगै सेन्साई पेमा वाइबा फिल्म निर्माण, फोटोग्राफी तथा ड्रोन सिनेमेटोग्राफीमा पनि सक्रिय छन् । उनले चार सयभन्दा बढी म्यूजिक भिडियो, डकुमेन्ट्री तथा नेपाली चलचित्रमा काम गरिसकेका छन् । ‘श्यालगर’, ‘सेम्की टाम’, ‘बेह्युल’ र ‘पिपलु छायाँ’ उनका चर्चित सिर्जनामध्ये पर्दछन् ।
सन् २०२२ देखि औपचारिक रूपमा पर्वतारोहणमा सक्रिय वाइबाले यसअघि सगरमाथा दुई पटक, मनास्लु र शिशापाङ्मा हिमाल सफल आरोहण गरिसकेका छन् । उनी अक्सिजनसहित उच्च हिमाली अभियानमा सक्रिय रहँदै आएका छन् ।
वाइबा काठमाडौं लायन्स क्लब ब्लडहुडका बोर्ड सदस्यसमेत हुन् । सामाजिक सेवा, युवा प्रेरणा र हिमाली संस्कृतिको संरक्षणमा पनि उनी सक्रिय रूपमा संलग्न छन् । उनले सन् २०२४ मे ३० मा पनि लायन्सको लोगो अङ्कित ब्लडहुडको झण्डा फहराउन सफल भएका थिए।
साथै सामाजिक सेवा, युवा प्रेरणा र हिमाली संस्कृतिको संरक्षणका अलवा रक्तदान सचेतना अभिवृद्धि तथा रगत व्यवस्थापनमा रक्तदानको महत्त्व उजागर गर्ने उद्देश्यसहित लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडले लायन् सेन्साई पेमा वाइबाबाट ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

लायन्स क्लब अफ काठमाडौँ ब्लडहुड (क्लब नं. १४७९३४) को लोगो अङ्कित झण्डा तथा लायन्स अन्तर्राष्ट्रियको झण्डा ब्लडहुडको नेतृत्वमा दोस्रो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर उचाइमा पुर्याइएको जानकारी गराइएको छ।
यस अभियानले “रगत व्यवस्थापनका लागि नियमित रक्तदान आवश्यक छ” भन्ने सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्ने विश्वास लिइएको छ। रक्तदानजस्तो मानवीय र जीवनरक्षक कार्यप्रति जनचेतना फैलाउन गरिएको यो प्रयासलाई क्लबले आफ्नो महत्वपूर्ण सामाजिक अभियानका रूपमा लिएको छ। लायन्स ब्लडहुडले बिगतको दिनमा धौलागिरि मा एक चोटि र एभरेष्टमा यो समेट गरि दुई चोटि झण्डा फहरायो संस्थाको संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठले जानकारी गराए। साथै रक्तदानको महत्वलाई अझ जनमानसमा पुर्याउन रारा तालमा।रक्तदान कार्यक्रम गरेको कुरा पनि श्रेष्ठले जानकारी गराएका छन्।
बिगतको दिनमा संस्थाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १ सय ११ जना समाजसेबी महिलाहरुलाई सम्मान गरेको पनि जानकारी गराएका छन्।
साथै हिमाललाई केवल साहसिक गन्तव्य नभई संस्कृति, पहिचान र आध्यात्मिकताको प्रतीकका रूपमा प्रस्तुत गर्दै आएका वाइबा नयाँ पुस्ताका हिमाली कथाकारका रूपमा स्थापित हुँदै गएका छन् ।