नेभिगेशन
अन्तर्वार्ता

पुष्प व्यवसाय युवा उद्यमशीलता र स्वरोजगारको माध्यमः सुमन महर्जन, संयोजक, १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी- २०८३

नेपालमा पछिल्लो पटक पुष्प ब्यवसायमा आर्कषण बढ्दो छ । पुष्प खेती तथा नर्सरी व्यवसाय स्वरोजगार र आय आर्जनको राम्रो माध्यम बनेको छ । काठमाडौ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा पुष्प खेती तथा व्यवसाय विस्तार गर्न सरकारको सहयोगी नीति र पर्याप्त पूर्वाधारको अभावको कारण व्यवसायी समस्यामा छन । नेपालमा यो व्यवसायको पर्याप्त संभावना र अवसर भए पनि अझै पनि ठुलो मात्रामा विदेशबाट फूलजज्य बस्तुको आयात गर्नु पनेै अवस्था छ । तीनै तहको सरकारले यो व्यवसायको महत्व र आवश्यकतालाई बुझन नसक्दा संभावना भएर पनि राष्ट्रिय प्राथमिकतामा पर्न नसकेको गुनासो प्फलोरिकल्चर एशोसिएसन नेपालले गरेको छ । त्यसैगरी भारत तर्फको खुला सिमा नाकाहरुबाट फूलजन्य सामग्री तथा प्लाष्टिकका फूलको खुलेआम आयात हुने गरेको यस क्षेत्रका व्यवसायीहरुको गुनासो छ । 
कात्तिक १२ गते देखि ललितपुरको जाउलाखेलको खेल मैदानमा १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी संचालनको सन्र्दभ तथा नेपालको समग्र पुष्प व्यवसायको विषयमा न्यूज२४ दैनिकका प्रधान सम्पादक नवराज चालिसेले  प्फलोरिकल्चर एशोसिएसन नेपालका मेला संयोजक सुमन मर्हजनसँग गरेको कुराकानीको सम्पादित अंश ।

युवा उद्यमीका रूपमा नेपालमै पुष्प व्यवसाय सञ्चालन गरिरहनुभएको छ । यो क्षेत्रको सम्भावना र आफ्नो अनुभवलाई कसरी हेर्नुहुन्छ ?
बाहिरबाट हेर्दा पुष्प व्यवसायमा धेरै दुःख गर्नुपर्ने, आम्दानी कम हुने र समाजले पनि त्यति सम्मानजनक व्यवसायका रूपमा नहेर्ने धारणा हुन सक्छ । तर हाम्रो परिवारका लागि यो व्यवसायले राम्रो प्रतिफल दिएको छ । यसले मलाई र मेरो परिवारलाई राम्रो जीवनस्तर प्रदान गरेको छ ।
यो व्यवसाय मेरो बुवाले २०५१ सालमा सुरु गर्नुभएको हो । उहाँको स्वास्थ्यका कारण पछिल्लो ११ वर्षदेखि मैले व्यवसाय सम्हालिरहेको छु । सुरुमा मलाई पनि यो व्यवसाय त्यति राम्रो होइन कि भन्ने लाग्थ्यो । तर व्यवसायमा संलग्न भएर बजार र यसको सम्भावना बुझ्दै जाँदा धारणा बदलियो । अहिले पुष्प व्यवसायमा सम्भावना नै सम्भावना देख्छु ।
समाजले यस क्षेत्रलाई पर्याप्त रूपमा चिन्न नसकेको र सरकारले पनि प्राथमिकतामा नराखेको कारण व्यवसायीले अपेक्षाअनुसार बजार पाउन सकेका छैनन् । युवापुस्ता पनि अपेक्षित रूपमा यस क्षेत्रमा आकर्षित हुन सकेको छैन । उचित वातावरण र बजारको व्यवस्था हुने हो भने पुष्प व्यवसाय राम्रो आम्दानी र रोजगारीको माध्यम बन्न सक्छ ।

युवाहरू रोजगारीका लागि विदेश गइरहेका बेला तपाईंले नेपालमै व्यवसाय गर्ने निर्णय कसरी लिनुभयो ?
मैले पढाइ पूरा गरेपछि बैंकमा जागिर सुरु गरेको थिएँ । राम्रोसँग काम गरिरहेको थिएँ । तर बुवाको स्वास्थ्य अवस्था बिग्रिएपछि बैंकको जागिर छाडेर पारिवारिक व्यवसाय सम्हाल्नुपर्ने भयो ।
पुष्प व्यवसायमा आउनुअघि यसै क्षेत्रमा काम गर्छु भनेर योजना बनाएको थिइनँ । तर नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने विश्वास थियो । विदेश जानुभन्दा आफ्नै परिवारसँग बसेर देशमै केही गर्नु राम्रो हो भन्ने लाग्यो ।
व्यवसायमा आएपछि यससम्बन्धी ज्ञान र सीप बढाउन आवश्यक थियो । म व्यवस्थापनको विद्यार्थी भएकाले कृषि तथा बिरुवासम्बन्धी प्राविधिक ज्ञान थिएन । त्यसैले फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गर्ने तालिममा सहभागी भएँ । कुनै पनि तालिम छुटाइनँ । अनलाइनका सामग्री हेर्ने, अध्ययन गर्ने र अनुभवबाट सिक्ने काम पनि गरेँ । यसरी सिक्दै अहिलेको अवस्थामा आइपुगेको हुँ ।
म आफू उदाहरण बनेर अरू युवालाई पनि नेपालमै व्यवसाय सुरु गर्न प्रेरित गर्न चाहन्छु । सरकारले सहयोग र प्रोत्साहन गर्ने हो भने यस क्षेत्रमा धेरै युवाले अवसर पाउन सक्छन् । व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना हुन्छ र अरूलाई पनि उद्यमी बन्ने अवसर मिल्छ ।
पुष्प व्यवसायको विकासका लागि सरकारबाट कस्तो सहयोग पाउनुभएको छ ?
पुष्प व्यवसायमा लागेको ११ वर्षको अनुभवमा सरकारले यस क्षेत्रलाई पर्याप्त प्राथमिकता दिएको महसुस गरेको छैन । राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान अहिले ठूलो नभए पनि त्यसको एउटा कारण व्यवसायको आकार सानो हुनु हो । अहिले यस क्षेत्रको विकासमा निजी क्षेत्र, व्यक्तिगत लगानी र संस्थागत पहलको भूमिका बढी छ ।

सरकारले आवश्यक नीति ल्याएर प्रोत्साहन गर्ने हो भने पुष्प व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा अहिलेभन्दा धेरै योगदान गर्न सक्छ । यसले उत्पादन बढाउनुका साथै रोजगारी सिर्जना गर्न पनि सहयोग पु¥याउँछ ।
अहिले नयाँ सरकारबाट हाम्रो अपेक्षा छ । पुष्प व्यवसायको विकासका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याइनेछ भन्ने आशा गरेका छौं । यस क्षेत्रमा लागेका युवाले निराश भएर व्यवसाय बन्द गरी विदेश जानुपर्ने अवस्था आउनु हुँदैन । उनीहरूले यहीँ व्यवसाय विस्तार गर्न र थप युवालाई रोजगारी दिन सक्ने वातावरण बन्नुपर्छ ।
बैंक तथा वित्तीय संस्थाबाट कस्तो सहयोग पाउनुभएको छ ? बीमाको अवस्था कस्तो छ ?
बैंक तथा वित्तीय संस्थाले अहिले पुष्प व्यवसायलाई पनि पहिचान गर्न थालेका छन् । यो सकारात्मक पक्ष हो । आफू पुष्प व्यवसायी भएको र नर्सरी सञ्चालन गरेको जानकारी गराएर लगानीका लागि सहयोग माग्दा बैंकहरू इच्छुक देखिन्छन् । मैले पनि बैंकबाट ऋण लिएर आफ्नो नर्सरीमा लगानी गरेको छु । ऋण प्रक्रिया अघि बढाउन ठूलो समस्या भोग्नुपरेको छैन ।
तर व्यवसायीले व्यवस्थित लेखा प्रणाली अपनाउन नसक्दा समस्या हुन्छ । बैंकले लगानी गर्नुअघि आर्थिक विवरण र लेखाप्रणाली व्यवस्थित भएको अपेक्षा गर्छन् । कतिपय व्यवसायीले आम्दानी, खर्च र कारोबारको विवरण राम्रोसँग राखेका हुँदैनन् । उनीहरूलाई बैंकको ऋण लिन कठिन हुन्छ । आवश्यक कागजात र लेखा विवरण व्यवस्थित राख्ने व्यवसायीले भने वित्तीय संस्थाको सुविधा लिन सक्छन् ।
बीमाको अवस्था भने सन्तोषजनक छैन । पुष्प व्यवसायमा उत्पादन हुने फूल तथा बिरुवाको बाली बीमा गर्ने व्यवस्था प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । बीमा कम्पनीहरूले पुष्प बालीको बीमा गर्न त्यति चासो देखाएका छैनन् । अहिले कम्तीमा हरितगृहका संरचनाको बीमा गर्ने अभ्यास भने सुरु भएको छ । उत्पादनको जोखिमबाट व्यवसायीलाई जोगाउन बाली बीमा आवश्यक छ ।
प्राकृतिक विपद् र मौसममा हुने परिवर्तनले पुष्प व्यवसायमा कस्तो असर पार्छ ?

पुष्प व्यवसाय प्रकृतिमा निर्भर हुन्छ । त्यसैले बाढीपहिरो जस्ता ठूला विपद् मात्र होइन, सामान्य मौसमी परिवर्तनले पनि उत्पादनमा ठूलो असर पार्न सक्छ ।
धेरै पानी पर्दा बिरुवामा पानी जमेर कुहिने समस्या हुन्छ । हावाहुरीले बिरुवाको संरक्षणका लागि बनाइएका संरचना उडाउन सक्छ । लामो समय पानी नपर्दा पानीका स्रोत सुक्छन् र बिरुवालाई समयमा पानी दिन समस्या हुन्छ । कतिपय अवस्थामा पानीसमेत किनेर ल्याउनुपर्ने अवस्था आउँछ ।
त्यसैले पुष्प व्यवसायमा मौसमअनुकूल संरचना, सिँचाइ र जोखिम व्यवस्थापन महŒवपूर्ण छन् । प्राकृतिक प्रकोपको असर कम गर्न सक्ने पूर्वाधार र प्रविधि विकास गर्न आवश्यक छ ।
यस पटकको गोदावरी फूल मेलाको तयारी कस्तो छ ? मेलाका मुख्य आकर्षण र लक्ष्य के छन् ?
मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक परम्परागत टेन्टको सट्टा क्यानोपी प्रयोग गर्दै छौं । यसले मेलास्थललाई थप आकर्षक बनाउने अपेक्षा गरेका छौं । व्यवसायीहरूले आफ्ना उत्पादन ल्याएर सजावट गर्नेछन् ।
मेलामा ४५० भन्दा बढी प्रजातिका फूल तथा बिरुवा प्रदर्शन गरिनेछन् । कुल ८७ वटा स्टल रहनेछन् । तीमध्ये ७८ वटा व्यावसायिक स्टल हुन् । बाँकी स्टलमा कार्यालय, पुष्प सजावट, सेल्फी र बिरुवा उपचारसम्बन्धी सेवा रहनेछन् ।
पाँच दिनसम्म चल्ने मेलामा ४० हजार दर्शकले अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखेका छौं ।
यसपटकको मेलामा के विशेष छ ?
विगतमा हामीले गोदावरी फूललाई मुख्य रूपमा प्रवर्धन गर्दै आएका थियौं । यसपटक सयपत्री फूललाई पनि विशेष महŒव दिएका छौं । सयपत्री नेपालमा धेरै उत्पादन हुने र किसानले पनि रुचाउने फूल हो । तर यसको बजार व्यवस्थापनमा समस्या छ ।

तिहारका चार–पाँच दिन सयपत्री फूलको माग अत्यधिक हुन्छ । त्यसपछि पनि किसानको उत्पादन आइरहन्छ, तर बजार नपाउँदा धेरै फूल खेर जाने गरेको छ । त्यसैले सयपत्रीलाई अन्य अवसरमा पनि उपयोग गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छौं ।
सामान्यतया फूलको सजावटमा जरबेरा, कार्नेसन र गुलाफको प्रयोग बढी हुन्छ । सयपत्रीलाई पनि विभिन्न कार्यक्रम तथा समारोहको सजावटमा प्रयोग गर्न सकिन्छ । त्यसको सम्भावना देखाउन यस पटक गोदावरी र सयपत्री फूलको कट फ्लावर एरेन्जमेन्ट अर्थात् काटिएका फूलबाट सजावट गर्ने प्रतियोगिता राखेका छौं ।
नयाँ प्रयोगले ग्राहकमा माग बढाउन र किसानको उत्पादन खेर जाने समस्या कम गर्न सहयोग पुग्ने अपेक्षा छ ।
मेलामा विदेशी पर्यटकको सहभागिता कस्तो हुन्छ ?
नेपालमा यो मौसममा विदेशी पर्यटकको आगमन बढ्ने भएकाले मेलामा पनि विदेशी पाहुनाहरू आउने गरेका छन् । उनीहरू मेलाको अवलोकन गर्छन् र फूल तथा बिरुवा हेरेर खुसी हुन्छन् । कतिपय पर्यटक एक दिन आएपछि अर्को दिन परिवारका सदस्यलाई समेत लिएर आउँछन् ।
नेपालमा होमस्टे सञ्चालन गर्ने विदेशी लगानीकर्ता पनि छन् । उनीहरू मेलामा आएर तिहारका लागि फूल तथा बिरुवा किन्छन् । यसले व्यवसायीलाई उत्साह दिनुका साथै मेलाको बजार विस्तारमा पनि सहयोग गर्छ ।
काठमाडौं उपत्यकाबाहिर पनि यस्ता मेला आयोजना गर्ने योजना छ ?
पुष्प व्यवसायको प्रवर्धन काठमाडौंमा मात्र सीमित हुनु हुँदैन । उपत्यकाबाहिरका व्यवसायीलाई पनि आफ्ना उत्पादन प्रदर्शन गर्ने अवसर दिनुपर्छ । उनीहरूलाई काठमाडौं आएर मेलामा सहभागी हुन सहज नहुन सक्छ । त्यसैले विभिन्न जिल्लामा मेला आयोजना गर्न लागेका छौं ।

यस पटक इलाममा पहिलो गोदावरी फूल मेला आयोजना हुँदै छ । कात्तिक १८ देखि २१ गतेसम्म इलाम चोक बजारमा मेला हुनेछ । पोखरामा पनि कात्तिक १८ देखि २२ गतेसम्म रंगशालामा प्रदर्शनी आयोजना हुँदै छ । चितवनमा भने मौसमअनुकूल समय मिलाएर पुस–माघमा प्रदर्शनी गर्ने योजना छ ।
जिल्ला–जिल्लामा यस्ता प्रदर्शनी हुँदा स्थानीय व्यवसायीले आफ्ना उत्पादनको प्रवर्धन गर्न पाउँछन् । पुष्प व्यवसायको बजार विस्तार गर्न पनि सहयोग पुग्छ ।
नेपालमा फूलको आयात भइरहेको छ, तर निर्यात बढ्न सकेको छैन । पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउन के गर्नुपर्छ ?
पुष्प व्यवसायमा बजारको मागअनुसार उत्पादन गर्न हामी तयार छौं । तर उत्पादनका लागि आवश्यक पूर्वाधार र जग्गाको अभाव छ । जग्गा पाइए पनि बजार नजिकको जग्गा महँगो छ । सस्तो जग्गा खोज्दा बजारबाट टाढा जानुपर्ने र सडक पहुँचको समस्या हुने गरेको छ ।
सरकारले प्रयोगमा नआएका सार्वजनिक जग्गालाई उपयोग गरेर पुष्प उत्पादन केन्द्र स्थापना गर्न सक्छ । भारतको पुणेमा सरकारले पुष्प उत्पादनका लागि निश्चित क्षेत्र तोकेको छ । त्यहाँ सडक, पानी र बिजुलीजस्ता पूर्वाधार उपलब्ध गराइएको छ । हरितगृह निर्माणमा पनि अनुदान दिइन्छ र निश्चित अवधिका लागि जग्गा उपलब्ध गराइन्छ ।
नेपालमा पनि दीर्घकालीन योजना बनाएर यस्तै पुष्प उत्पादन क्षेत्र स्थापना गर्नुपर्छ । सरकारले जग्गा, पानी, बिजुली र सडकको सुविधा उपलब्ध गराउने हो भने हामीजस्ता युवा व्यवसायी उत्पादन विस्तार गर्न तयार छौं ।
अहिले देशभित्रै फूलको माग बढिरहेको छ । उत्पादन सीमित भएकाले पहिले आन्तरिक माग पूरा गर्न सक्नुपर्छ । सकेसम्म आयातमा निर्भर नभई नेपाली उत्पादनले नै देशको माग धान्ने लक्ष्य राख्नुपर्छ । त्यसका लागि उत्पादन बढाउनु र बजार व्यवस्थित गर्नु आवश्यक छ ।

खुला सिमानाबाट अवैध रूपमा फूल तथा बिरुवा भित्रिने समस्या पनि नियन्त्रण गर्नुपर्छ । चोरीपैठारीले स्वदेशी व्यवसायीलाई असर पु¥याउँछ । सरकारले सीमा निगरानी र अवैध आयात नियन्त्रणमा कडाइ गर्न आवश्यक छ ।

अन्त्यमा, पुष्प व्यवसायको प्रवर्धनका लागि सरकार, निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाले के गर्नुपर्छ ?
पुष्प व्यवसायमा युवाको आकर्षण र देशभित्रै माग दुवै बढिरहेका छन् । अब उत्पादन बढाउन प्रविधिमा लगानी गर्नुपर्छ । परम्परागत र मानवीय श्रममा मात्र निर्भर रहेर उत्पादन विस्तार गर्न कठिन हुन्छ ।
सरकारले व्यवसायीलाई सहज रूपमा लगानी जुटाउन सक्ने नीति ल्याउनुपर्छ । हामीलाई निःशुल्क अनुदान नै चाहिन्छ भन्ने होइन । उत्पादनका लागि आवश्यक लगानी जुटाउने र निश्चित अवधिपछि आम्दानीबाट रकम फिर्ता गर्न सकिने व्यवस्था भए पनि पर्याप्त हुन्छ ।
उत्पादनका लागि जग्गा उपलब्ध गराउनुका साथै फूलको व्यवस्थित थोक बजार स्थापना गर्नुपर्छ । तरकारीका लागि छुट्टै थोक बजार भएजस्तै फूलका लागि पनि ठूलो बजार आवश्यक छ । यसले उत्पादक र खरिदकर्ताबीचको पहुँच सहज बनाउँछ र उत्पादनले बजार पाउने सुनिश्चितता बढाउँछ ।
प्रविधिको क्षेत्रमा हामी अझै पछाडि छौं । हालै चीनमा भएको प्रदर्शनीमा त्यहाँको पुष्प व्यवसायले प्रविधिमा गरेको प्रगति देख्ने अवसर मिल्यो । हाम्रो अवस्था त्यसको तुलनामा २०–२५ वर्ष पछाडि रहेको महसुस भयो । त्यसैले सरकारले मात्र होइन, बैंक तथा वित्तीय संस्थाले पनि कृषि र पुष्प व्यवसायमा आधुनिक प्रविधि भिœयाउन लगानी गर्नुपर्छ ।
उत्पादनका लागि पूर्वाधार, प्रविधि र बजारको व्यवस्था गर्न सकियो भने नेपालकै उत्पादनले आन्तरिक माग पूरा गर्न सक्छ । त्यो नै अहिलेका लागि पुष्प व्यवसाय क्षेत्रको ठूलो उपलब्धि हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्