नेभिगेशन
अर्थतन्त्र

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई मुआब्जा

काठमाडौं । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको हो ।            

यस्तै, समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोढेमा दमौली भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति निर्धारण गरिएको छ । साथै, जलाशय तथा बफर जोन क्षेत्रमा पर्ने  ऐलानी प्रयोगकर्ता तथा अव्यवस्थित बसोबासीले माग गरेको क्षतिपूर्तिको विषयमा पनि बैठकमा छलफल भएको छ ।

आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना (हेडवर्क्स), प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण र प्याकेज–३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ ।              

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ५० करोड ५० लाख डलरमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने  गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्