नेभिगेशन
अर्थतन्त्र

तनहुँ जलविद्युतको निर्माण प्रगति ७५ प्रतिशत

काठमाडौं । गण्डकी प्रदेशमा निर्माणाधीन १४० मेगावाट मेगावाटको जलाशययुक्त आयोजना तनहुँ जलविद्युतको निर्माण पुरा हुन अब २५ प्रतिशतमात्रै बाँकी छ । तनहुँको ऋषिङ–१ झापुटारमा निर्माणाधीन आयोजनाको सिभिल संरचनामा काम धमाधम छ । 
प्याकेज–१ अन्तर्गत बाँध क्षेत्रका संरचना निर्माण, प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृहको भौतिक संरचना निर्माण तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम एक साथ भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार प्याकेज–३ अन्तर्गत आयोजनाले उत्पादन गर्ने विद्युत प्रवाह हुने २२० केभी दमौली–भरतपुर प्रसारण लाइन निर्माण भइरहेको छ ।
उनका अनुसार प्याकेट–१ को ठेक्कामा बाँध क्षेत्रको भौतिक प्रगति ५७ प्रतिशत भएको छ । यो प्याकेजमा बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । बाँध क्षेत्रमा मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा ‘डाइभर्सन’ सुरुङलगायत संरचनाको निर्माण सकिएको छ ।     
मुख्य बाँध निर्माणका लागि सेती नदीको बहावलाई २०८० कात्तिक २० मा अर्को बाटो पठाइएको थियो । २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सकिएको आयोजनाले जनाइएको छ । यो काम सकिएपछि अहिले मुख्य बाँधको कंक्रिटिङ तथा ग्राउटिङ कार्य सुरु गर्न आवश्यक पूर्वाधार तयार गरिएको भण्डारीले बताए । 
‘आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि २०८१ चैत ७ गते पहिलो कंक्रिट राखी कंक्रिटिङ कार्यको सुरुआत गरिएको थियो,’ उनले भने, ‘मुख्य बाँधको कङ्क्रिट, कोर ड्रिलिङ, ग्राउटिङ लगायतको काम पनि भइरहेको छ ।’
प्याकेज २ अन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरणको काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । भूमिगत संरचनाहरू निर्माणका लागि खन्ने काम सकेर अधिकांश संरचनाको तयारीका क्रममा रहेको जानकारी भण्डारीले दिए । विद्युतगृह, अडिट सुरुङ, सर्च ट्यांक, टेलरेस सुरुङलगायत संरचनाहरूको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको प्रगति ७६ प्रतिशत भएको पनि उनले बताए । 
भण्डारीका अनुसार जलाशयको पानीलाई विद्युतगृहमा पु¥याउन प्रयोग हुने मुख्य सुरुङको कंक्रिट लाइनिङ कार्य भइरहेको छ । कुल १४१८.७५ मिटर कंक्रिट लाइनिङ गर्नुपर्नेमा अहिलेसम्म १४०७.७५ मिटर पुरा भएको छ ।
प्याकेज–३ अन्तर्गत प्रसारण लाइनको काम भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले गरिरहेको छ । दमौली–भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम पुरा भएको छ । यो प्याकेजको प्रगति ७७ प्रतिशत छ । प्रसारण लाइनको मार्गाधिकारमा पर्ने राष्ट्रिय वनका रहेका रूखबिरुवा हटाउन सम्बन्धित डिभिजन वन कार्यालयसँगको समन्वयमा छाप हान्ने कार्य सुरु भएको छ । 
यो आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक तनहुँ हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको हो । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापानी सहयोग नियोग जाइकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्