नेभिगेशन
अर्थतन्त्र

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले पाथीभरा मन्दिर र आसपासका स्थानीय तहहरुलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा वैशाख २१ बाट सञ्चालनमा ल्याएको हो । 
समुद्र सतहबाट करिब ३ हजार ७९४ मिटरको उचाइमा रहेको सो विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथिभरा माताको दर्शन गर्न जाने हजारौं श्रद्धालु भक्तजनहरूका साथै मन्दिर आसपास जोडिएका फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, सिरीजंघा गाउँपालिका र पाथिभरा याङ्वरक गाउँपालिकाका विभिन्न वडाका बासिन्दाहरू प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।
अब मन्दिर दर्शन गर्न जाने क्रममा र मन्दिर परिसरमा श्रद्धालुहरूले आफ्ना परिवार र आफन्तजनसँग सहजै सम्पर्क गर्न सक्नुहुनेछ । उच्च गतिको फोरजी डाटा सेवामार्फत मन्दिर परिसरका तस्बिर, भिडियो तथा लाइभ अपडेटहरू सामाजिक सञ्जालमा सहजै आदानप्रदान गर्न सकिनेछ । सञ्चारको पहुँचबाट टाढा रहेका सो जिल्लाका नगरपालिका तथा गाउँपालिकास्थित दुर्गम बस्तीका बासिन्दाहरू अब सूचना प्रविधिको मूलधारमा जोडिएका छन् । यसले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पुर्तिमा सहयोग पु¥याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउनेछ ।
उच्च पहाडी र विकट पदमार्ग भएका कारण स्वास्थ्य समस्या वा अन्य आपतकालीन अवस्था आइपर्दा तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित निकाय वा परिवारसँग सम्पर्क गर्न यो सेवाले महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसैगरी सञ्चार सुविधाको उपलब्धताले यस क्षेत्रको पर्यटन प्रवर्धनमा थप टेवा पुग्नेछ । साथै, स्थानीय होटेल व्यवसायी तथा व्यापारीहरूलाई क्यूआर कोडमार्फत भुक्तानी लगायतका डिजिटल बैंकिङ कारोबार र व्यवसाय प्रवर्धन गर्न सहज हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्