कास्की । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा दुई लाख ५१ हजार १८८ विदेशी पर्यटक भित्रिएका छन् । सबैभन्दा बढी चैतमा ६५ हजार २४२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा कम साउनमा ११ हजार ८२४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
भदौमा १६ हजार २७६, असोजमा ३० हजार ५४७, कात्तिकमा ३५ हजार ९५४, मङ्सिरमा १४ हजार ९४१, पुसमा २९ हजार ९८०, माघमा १६ हजार ६१२ र फागुनमा २९ हजार ८१२ पर्यटक भित्रिएका हुन् । गत नौ महिनामा भित्रिएका कुल पर्यटकमध्ये एक लाख ५१ हजार ६८ जना दक्षिण एसियाली मुुलुकका र बाँकी अन्य मुलुकका रहेका आयोजना कार्यालयका प्रमुख डा. रविन कडरियाले बताए । असोजबाहेक सबै महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटक बढेका छन् ।
‘आव २०८१÷८२ को चैतमा जम्मा ४४ हजार ९७७ पर्यटक आएका थिए, चालु आवको चैतमा उक्त संख्या बढेर ६५ हजार २४२ पुगेको छ,’ प्रमुख डा. कडरियाले भने, ‘आव २०७९÷८० देखि नै पर्यटक आगमनको दर बढ्दै आएको छ, अन्य देशको तुलनामा भारतीय पर्यटकको संख्या धेरै छ ।’
जाडो र वर्षातको याममा पर्यटक आगमन घटे पनि मुख्य पर्यटकीययाम असोज–कात्तिक र चैत–वैशाखमा पर्यटकको संख्या बढ्ने गरेको उनले बताए । सडकमार्ग भएर अन्नपूर्ण क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको संख्या पनि सोही याममा बढी हुने गरेको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेको कडरियाले बताए ।
आयोजना कार्यालयले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडकमार्ग भएर मुस्ताङलगायतका गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको संख्या पनि बर्सेनि बढ्दो छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ । आयोजना कार्यालयको तथ्यांकअनुसार आव २०७९÷८० मा एक लाख ७२ हजार १०८, आव २०८०÷८१ मा दुई लाख २२ हजार १८० र आव २०८१÷८२ मा दुई लाख ७८ हजार ११३ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडाको सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र हिमशृंखलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिन्छ ।
चार महिनामा ८३ हजार विदेशी पर्यटक मुस्ताङमा
सन् २०२६ को सुरुवाती चार महिनामा ८३ हजार १४९ विदेशी पर्यटक मुस्ताङ घुम्न आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार यो सन् २०२५ को सोही अवधिको भन्दा बढी हो । सन् २०२६ को जनवरीमा १० हजार ८०३, फेब्रुअरीमा नौ हजार चार, मार्चमा २३ हजार २०४ र अप्रिलमा ४० हजार १३८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए ।
यसअघि सन् २०२५ को सोही अवधिमा ५१ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यस वर्ष जनवरीमा चार हजार ३४६, फेबु्रअरीमा पाँच हजार ३०३, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ जना विदेशी पर्यटक आएका थिए ।
कार्यालय प्रमुख गुप्तका अनुसार सन् २०२५ को पहिलो चार महिनाको तुलनामा सन् २०२६ को पहिलो चार महिनामा ३१ हजार २५३ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको हो । यहाँ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् ।
यहाँ आउने पर्यटकमध्ये अधिकांशले मुक्तिनाथ दर्शन गरी फर्किने गरेको पाइएको छ । पोखरा–जोमसोम हवाईमार्ग र सडकमार्ग हुँदै आउने तेस्रो मुलुकका (सार्कबाहेक) पर्यटकहरू जोमसोम हुँदै उपल्लो मुस्ताङ प्रस्थान गर्ने गरेको एक्यापले जनाएको छ ।