नेभिगेशन
अर्थतन्त्र

बन्दीपुरको पर्यटन प्रवर्धन गर्न साइक्लिङ, काभ्रेका खरेल प्रथम

तनहुँ । बन्दीपुरका ग्रामीण पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्दै साइक्लिङ रुटको प्रवर्धन गर्ने उद्देश्यले शनिबार साइक्लिङ प्रतियोगिता आयोजना गरिएको छ । बन्दीपुर गाउँपालिकाको आयोजना तथा नेपाल साइक्लिङ महासंघको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल प्रथम भए । खरेलले करिब २२ किलोमिटर दूरी एक घण्टा १९ मिनेट आठ सेकेन्डमा पूरा गरेका थिए । निर्धारित दूरी २० मिनेट २६ सेकेन्डमा पार गर्दै तनहुँका सौगात अछामी द्वितीय र सुनसरीका सञ्जय राई एक घण्टा २६ मिनेट १६ सेकेन्डमा सोही दूरी पारी गर्दै तृतीय भए ।
प्रतियोगितापछि बन्दीपुर बजारमा आयोजित कार्यक्रममा विजेता प्रतियोगीलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको छ । त्यस्तै सहभागी सबैलाई तीन हजार प्रदान गरिएको बन्दीपुर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछानेले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुरलाई साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न पालिकाले विभिन्न प्रचारप्रसारसहित पर्यटन प्रवर्धनका गतिविधि सञ्चालन गरिरहेको बताए । उनले साइक्लिङ प्रतियोगिताले पर्यटन प्रवर्धनसँगै स्वस्थ जीवनशैलीको सन्देश दिएको उल्लेख गरे ।
ग्रामीण पर्यटकीय गन्तव्य तथा साइक्लिङ रुटको प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थापाले बताए । धरमपानीबाट बन्दीपुर बजारसम्मको मार्ग प्राकृतिक सौन्दर्य, पहाडी संस्कृति, घरबासलगायत आकर्षक गतिविधि समावेश गरिएकाले ग्रामीण जीवनशैलीले भरिपूर्ण रहेको उनले उल्लेख गरे । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ । 
त्यसैगरी नेपाल साइक्लिङ महासंघका अध्यक्ष सुदिप पौडेलले बन्दीपुर क्षेत्र साहसिक खेल पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रियस्तरका थप प्रतियोगिता आयोजना गर्न सुझाव दिए । बन्दीपुरमा खासगरी प्राचीन पुरातात्विक महत्वको बन्दीपुर बजार, टुँडिखेल सहिद स्मारक, थानीमाई मन्दिर, खड्गमाई मन्दिर, बिन्दबासिनी मन्दिर मणिमुकुन्देश्वरी पदमार्ग (मिनी ग्रेट वाल), रानीवन, तीनधारा, पिकनिक स्पोर्ट, गुम्बा, रामकोट, धरमपानी, कोरीखाका होमस्टेहरू, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, मौरी पालन र च्याउ उत्पादनका लागि किट विकास कार्यक्रमलगायत स्थानहरू पर्यटकीय केन्द्रका रूपमा परिचित छन् । 
नेवारी, मगर, गुरुङ जातजातिको विभिन्न सांस्कृतिक भेषभुषा र रितिरिवाजको विविधता बन्दीपुरमा देख्न सकिन्छ । यहाँबाट धौलागिरि, अन्नपूर्ण माछापुच्छ«े, मनास्लुलगायत दर्जनौँ हिमशृंखला अवलोकन गर्न सकिन्छ । हिमालको लामो दृश्य एउटै रेन्ज एकै ‘फ्रेम’मा देखिने भएकाले पनि बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटक रमाउने गर्छन् । गर्मीमा चिसो, जाडोको समयमा बिहानै घाम लाग्ने बन्दीपुरबाट पहाडका नागबेलीसमेत देख्न सकिन्छ । बन्दीपुरमा होटल संघमा आबद्ध करिब ८० वटा होटल र १२ वटा घरबास सञ्चालनमा छन् । 

पृथ्वी राजमार्गअन्तर्गत तनहुको डुम्रे बजारबाट एक किलोमिटर अगाडि बन्दीपुर गेटबाट आठ किलोमिटर यात्रा गर्दै यहाँ पुग्न सकिन्छ । अहिले बन्दीपुरको ठूलढुंगाबाट बरालथोकसम्म आउन केवलकारसमेत सञ्चालनमा आएको छ । केवलकारबाट आउँदा सात मिनेटमा यहाँ बन्दीपुर पुग्न सकिने भएकाले पर्यटकलाई यात्रा गर्न सहज भएको सरोकार भएकाहरूले बताएका छन् । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्