काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न आह्वान गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु ।’ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालतर्फ ठूलो क्षति भएकोमा जलवायु परिवर्तनलाई मुख्य कारण मानिएका बेला पौडेलले यस्तो आह्वान गरेका हुन् ।
प्रभावित एवम् प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको पनि उनले बताएका छन् । उनले पीडितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न पनि आग्रह गरेका छन् । पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदा नेपालको विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने आफूलाई लागेको उनले बताए । राष्ट्रपति पौडेलले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका थिए ।
काठमाडौं फर्केपछि सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बाढीपीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सरकारबाट राज्यका स्थानीय तहलगायत सबै निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।
‘यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ । अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ । भरोसा चाहिएको छ र सरकार, राजनीतिक दल एवं सम्पूर्ण नागरिक संघसंस्था त्यसका लागि क्रियाशील छन् भन्ने मैले ठानेको छु । यो दुःखको घडीमा म आफू पनि सबैको साथमा रहेको विश्वास दिलाउन चाहन्छु,’ सम्बोधनमा उनले भने ।
उनले थप अगाडि भनेका छन्, ‘हामीलाई थाहा छ कि विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो ।’
उनले यतिबेलाको गहिरो पीडालाई कम गर्न सक्ने शब्दहरू आफूहरूसँग नभएको उल्लेख गर्दै परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त हुन आग्रह गरेका छन् ।
उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिएका छन् । अहिले बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएकाहरू, गर्भवती तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक रहेको तथा अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्छ भन्ने विषयमा ‘हामी विशेष रूपमा सचेत र संवेदनशील रहनुपर्ने’ उनको भनाइ छ । विपत्तिमा प्रत्यक्ष रूपमा खटिएका सेना, सशस्त्र बल, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति र संस्थाप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन् ।
उनले ‘यो विभाजनको समय होइन र एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन’ भन्दै भनेका छन्, ‘म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु,’