काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ ।
हालसम्म ९८ वटा शव सनाखत भई परिवारले बुझेकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । सनाखत हुन बाँकी रहेका शवका लागि डिएनए परीक्षण गर्नुपर्ने भन्दै सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणितसहित नमूना दिन सकिने उनले बताए । बाढी प्रभावित क्षेत्रमा हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।
प्राधिकरणका प्रवक्ता महतका अनुसार चार हजार ९९४ जना अझै सम्पर्कविहीन रहेका छन् । तीमध्ये सबैभन्दा बढी नुवाकोटबाट दुई हजार ३४० र रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अद्यावधिक विवरणअनुसार एक हजार ९६७ जना रहेका छन् । सम्पर्कविहीन हुनेको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ६७६ जनाले उपचार सेवा लिएका छन् ।
विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका प्राधिकरणले जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् ।
बेपत्ता विदेशी पर्यटक संख्या ५८७
बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका हुन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएको जानकारी दिए ।
बेपत्ता भएका विदेशी पर्यटकमध्ये २५६ पुरुष, ३२९ महिला र दुई अन्य रहेका छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् । विभागले दिएको जानकारीअनुसार भारतका १८४ नागरिक बेपत्ता भएका छन् । यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्यान्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आइरिसका दुई, इजरायलका एक, लिथ्वानियाका एक, मलेसियाका ५५ र नेदरल्यान्डका दुईजना बेपत्ता भएका छन् ।
यस्तै, न्युजिल्यान्डका पाँच, पोर्चुगलका दुई, रसियाका आठ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६७, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्विडेनका एक जना बेपत्ता भएका छन् । यसैगरी, लाटभियाका ३३, स्विजरल्यान्डका एक, इटलीका दुई, चीनका २६, भियतनामका एक, इस्टोनियाका एक र पोल्यान्डका दुई पर्यटक बेपत्ता भएका छन् ।
उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक बेपत्ता भएका छन् । विभागका अनुसार बेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला रहेका छन् । बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारी घिमिरेले बताए ।
सरकारले विपद्का बीच उद्धार कार्य पनि जारी राखेको छ । हालसम्म ३०७ विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये २५४ पुरुष र ५३ महिला रहेका छन् । यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये सात जना (दुई पुरुष, चार महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएका छन् ।
सुदूरपश्चिमका २६ जना अझै अज्ञात
यसैगरी कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना छोराको खोजीमा पाँच दिनदेखि काठमाडौँका अस्पताल, सम्बन्धित निकायमा दौडधुप गरिरहेका छन् । रसुवा बाढीमा परी २२ वर्षीय एक्लो छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई भेट गरिरहेका रानाले छोरा सकुशल पाउने आशा न्यून हुँदै गएको बताए ।
“छोराको सास कि लासै भए पनि पाउँला भनेर काठमाडौँ पुगेको छु,” उनले भने, “घरपरिवारमा सन्नाटा छाएको छ । यसैबीच यहाँ आएँ तर छोराको खोजी हुँदैछ भन्ने खबरबाहेक केही पाइँन ।” त्रिशूली २१६ जलविद्युत् आयोजनामा मजदुरी गर्दै आएका क्रिकेसनको अवस्था बाढीपछि अझै अज्ञात छ ।
“घरमा नाबालिका नातिनी छ । बुहारीसँगै परिवारकै जीवनयापन गर्ने भरोसाको पत्तो छैन,” रानाले भने, “छोराकै कमाईले परिवार थानिएको थियो । अब के गर्ने हो सोच्नै सकिएको छैन ।” उनले छोरा एक वर्षदेखि रसुवामा काम गर्दै आएको बताए । “आउने÷जाने गरेर आयोजनामा काम गर्न थालेको एक वर्षभन्दा बढी भइसकेको थियो,” उनले भने, “हाम्रो त परिवारभित्रकै तीन जना सदस्य सम्पर्कविहीन हुँदा परिवारमा बज्रपात भएको छ ।”
गाउँमा आफूसँग भएको चार कट्ठा जमिनमा खेती गरेर अन्नपातको जोहो गर्दै आएका रानाले छोराको अवस्थाबारे कुनै जानकारीसम्म नपाएको दुखेसो पोखे । “घरको आर्थिक अवस्था कमजोर हुँदा छोरालाई मजदुरीका लागि यसअघि भारत पनि पठाएँ,” उनले भने, “बाढी गएको यतिका दिन हुँदा पनि छोराको स्वर सुन्न नपाउँदा आमा घरमा बिलौना गर्दैछिन् ।”
कृष्णपुर नगरपालिका–३ का क्रिकेसन रानासँगै कालु राना र रिकेश राना पनि सोही ठाउँबाट सम्पर्कविहीन भएका कालु रानाका भतिजा सोहन रानाले बताए । “कसैको फोन आयो कि सम्पर्कविहीन भएका आफन्त भेटे कि जस्तो लाग्छ,” उनले भने, “तीनै जना आफन्त हराइरहँदा परिवारमा आँसुबाहेक केही छैन ।”
हराएका तीन जनाकै छोराछोरी नाबालिक छन् । श्रीमतीको दैनिकी श्रीमानको सकुशल फिर्तीको प्रार्थना गर्दै बितिरहेको सोहनको भनाइ छ । तीन जना केही समयअघि मात्रै घरमा धानखेती गरेर त्यसतर्फ पुनः काम गर्न गएका थिए,” उनले भने, “परिवारको खर्च चलाउने, दैनिकी सहज बनाउने घरका खम्बाहरु नै ढलेजस्तो गरी गाउँमा सन्नाटा छ ।”
हराइरहेका कालु रानाकी श्रीमती रेखाले छोराछोरी बुबा आउने आशामा बसेका बताए । “छोराछोरीहरू ‘आमा बुबालाई फोन गर कुरा गर्छौं’ भन्छन्,” उनले भक्कानिँदै भने, “यत्तिका दिन भयो फोन आउँदैन । पहिले दिनमा तीन–चार पटकसम्म फोन गर्नुहुन्थ्यो ।” उनले श्रीमान् सम्पर्कविहीन हुँदा छोराछोरीको बिचल्ली हुने चिन्ता बढेको बताए । “अब छोराछोरी कसले पढाइदिन्छ ?” उनले प्रश्न गर्दै भने, “सरकारसँग बिन्ती छ, हाम्रा मान्छेको खोजीकार्य गरिदिनु ।”
त्यसैगरी, शुक्लाफाँटा नगरपालिका–३ जोनापुर विनोद डगौरा निराश हुँदै काठमाडौँबाट घर फर्किए । करिब २५ वर्षीय छोरा दीपेन्द्र डगौरा लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत रहँदा भदौ १० गतेको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन् । “न सास भेटिने भयो न लास नै । निकै पीडा भयो,” उनले भने, “एक्लो छोरो थियो । बुढेसकालको सहारा होला भनेको युवा अवस्थामा नै विलय भयो ।”
आर्थिक अवस्था कमजोर भएकाले छोरा मजदुरीका लागि रसुवा पुगेको बुबा विनोद बताए । “आर्थिक अवस्थाले पढाउन सकिएन । पठाउन सकेको भए आज रसुवामा हराउनुपर्ने अवस्था आउने थिएन कि,” उनले भने, “गरिबीले मजदुरीमा पु¥यायो । बाढीले परिवारमा बिचल्ली ल्यायो ।” भोटेकोशी नदीमा आएको बाढीबाट कञ्चनपुरका २६ जना अझै हराइरहेका छन् ।