गैरीखर्क (नुवाकोट) । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडकछेउको चिया पसलमा छिरेका थिए । एक्कासि ठूलो–ठूलो आवाज कानमा ठोक्कियो । बाहिर निस्केर स्याँफ्रुबेंसीतर्फ हेर्दा उनको होसहवास नै उड्यो । भोटेकोशी उर्लिएर आकाशै छुन लागेको जस्तो देखिन्थ्यो । बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्काइरहेको थियो ।
‘भोटेकोशीमा बाढी यति धेरै आएको थियो कि केहीबेर मैले केही सोच्नै सकिनँ,’ वीरबहादुरले त्यो क्षण सम्झिए, ‘एकछिनपछि झल्यास्स सम्झिएँ– लौ, मेरो जहान बच्चाहरूलाई बग्नबाट कसरी जोगाउने ?’
त्यसपछि उनको ध्यान नुवाकोटको विदुर–१० भैंसेस्थित घरतिर गयो । श्रीमती गंगा तामाङ गुरुङलाई फोन गरे । फोन उठेन । फेरि गरे, उठेन । त्यसपछि नौ कक्षामा पढ्ने छोरी एविकालाई फोन लगाए ।
स्कुल जाँदै गरेकी एविकाले बुबाको फोन उठाइन् । वीरबहादुरले धुञ्चेबाट देखिरहेको दृश्यबारे बताएपछि उनी बाटोबाटै पाखोतिर भागिन् । ‘छोरीले एक कलमै फोन उठाइन् र मैले धुञ्चेबाट देखिरहेको, सुनिरहेको दृश्य बताएँ,’ वीरबहादुरले भने, ‘एकछिनपछि श्रीमती र दाजु रमेशले पनि फोन उठाए ।’
गंगा त्यतिबेला खेतमा थिइन् । उनी घर पुग्दासम्म वीरबहादुरका दाजु रमेश गुरुङले ७१ वर्षीया साइली र दुई वर्षका बालकलाई घरमाथिको पाखामा पु¥याइसकेका थिए ।
त्यो फोन एउटा परिवारका लागि मात्र थिएन । रमेशले पसलबाट वरपरका मानिसलाई पनि चिच्याउँदै बाढी आउँदै गरेको खबर सुनाउन थाले । करिब ३० परिवारलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरे ।
‘पसलमा धेरै ग्राहक आएका थिए, खाना बनाउँदै थिएँ । एक्कासि भाइको फोन आयो । सबैलाई बाढी आयो भन्दै भाग्न भनें,’ रमेशले भने, ‘धेरैले विश्वास नै गरेनन् । विश्वास नगर्नेहरूलाई बाढीले बगायो ।’
उनका अनुसार वीरबहादुरले धुञ्चेबाट फोन गरेको करिब आधा घण्टापछि बाढी भैंसेसम्म आइपुगेको थियो । त्यो आधा घण्टा नै धेरैका लागि जीवन र मृत्युबीचको दूरी बन्यो ।
वीरबहादुरको आफ्नै माइक्रोबस छ । उनी सामान्यतया वेत्रावती–काठमाडौं चलाउँछन् । तर बाढी आएको दिन गोसाइँकुण्ड जाने १० तीर्थयात्री लिएर बिहानै धुञ्चे पुगेका थिए । त्यही संयोगले उनलाई बाढीको भयावह दृश्य अरूभन्दा पहिले देख्ने अवसर दियो । ‘भाग्य बलियो रहेछ, त्यही भएर बाँचें,’ उनले भने, ‘अरू दिन हुन्थ्यो भने म मात्र होइन, परिवार नै बाढीमा बग्थ्यो ।’
उनको परिवार बाँचे पनि घर र सम्पत्ति भने जोगिएन । दुःखले जोडेको करिब १० तोला सुन, १४ लाख रुपैयाँ नगद र लाखौं खर्चेर बनाएको पक्की घर बाढीमा विलय भयो।
तर वीरबहादुर र गंगालाई त्यसको विस्मात धेरै छैन । ‘गहना र पैसा लिएरै भाग्न खोजेको भए परिवारै बग्थ्यो,’ गंगाले भनिन्, ‘मैले त्यसलाई आफ्नो ज्यान र छोराछोरीभन्दा प्यारो ठानिनँ । त्यसैले त आज नयाँ जीवन पाएँ ।’
रमेशको अवस्था पनि उस्तै छ । करिब एक करोड रुपैयाँ लगानीमा बनाएको घरमै उनले खानाखाजाको पसल चलाउँदै आएका थिए । व्यापारको याममा दैनिक २०–२५ हजार रुपैयाँसम्म कारोबार हुन्थ्यो । घर बनाउँदाको करिब ४० लाख रुपैयाँ ऋण अझै बाँकी थियो ।
बाढीले घर, पसल र आम्दानीको आधार खोस्यो । विद्यालय गएको छोरा कहाँ छ भन्ने चिन्तामा उनले झन्डै चार घण्टा बिताए । पछि साथीहरूसँग सुरक्षित भागेको थाहा पाए ।
तर उनीहरूको परिवार पूर्ण रूपमा भने जोगिएन । परिवारकी सदस्य तेराना तामाङ बाढीमा परिन् । उनी त्रिशूली अस्पतालमा नर्स थिइन् । अघिल्लो राति शोलेस्थित घर गएकी उनी भोलिपल्ट अस्पताल पुग्नै पाइनन् । ‘सबै शोकमा छन्, एकले अर्कोलाई हेरेर चित्त बुझाउनु परिरहेको छ,’ रमेशले भने ।
विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालका अनुसार बाढीबाट वडाका २५६ परिवारका करिब एक हजार दुई सय जना प्रभावित भएका छन् । २३९ जना बेपत्ता रहेको र उत्तरगया बोर्डिङ स्कुलका अनुमानित दुई सय विद्यार्थीसमेत बेपत्ता रहेको उनले बताए । तथ्यांक संकलन भइरहेको छ ।
भैंसेका करिब १५० विस्थापितलाई सुरक्षित स्थानमा होल्डिङ सेन्टरमा राखिएको छ । रमेशसहित केही परिवार भने गैरीखर्कमा आफन्तको आश्रयमा छन् । ‘खानेकुराको कमी छैन, विभिन्न निकायले राहत दिइरहेका छन्,’ रमेशले भने, ‘तर लामो समय यसरी बस्न सकिँदैन । सरकारले उचित बसोबासको व्यवस्था गरिदिए हुन्थ्यो ।’ बाढीले उनीहरूको घर लग्यो, पसल लग्यो, सम्पत्ति लग्यो । केही आफन्त पनि लग्यो । तर एउटा फोनकलले भने एउटा टोललाई भाग्ने समय दियो ।
वीरबहादुरको मोबाइलबाट गएको त्यो एक कल आज पनि भैंसेका बाँचेकाहरूका लागि केवल फोन होइन, जीवन फर्काउने खबर बनेर सम्झनामा छ । ‘सम्पत्ति त फेरि जोड्न सकिएला,’ वीरबहादुरले भने, ‘जीवन त कहाँ पाउनु ?’ (रासस)