नेभिगेशन
प्रदेश

लालबन्दी नेपालको दोस्रो मर्यादित महिनावारीमैत्री वडा

सर्लाही । लालबन्दी नगरपालिका–१० लाई यही भदौ २५ गते नेपालको दोस्रो मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिने भएको छ । लालबन्दी–७ स्थित बाल संरक्षण संस्थाले राधा पौडेल फाउन्डेसनको सहकार्यमा सञ्चालन गर्दै आएको ‘यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी’ कार्यक्रमअन्तर्गत वडा घोषणा गर्न लागिएको हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष टोपबहादुर श्रेष्ठले तीन वर्षदेखि सञ्चालन हुँदै आएको निरन्तर सचेतना तथा समुदायकेन्द्रित कार्यक्रमका कारण वडा घोषणाको अवस्थामा पुगेको बताए । बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेका अनुसार सर्वेक्षणमा ७० प्रतिशतभन्दा बढी घरपरिवारले महिनावारीका समयमा कुनै पनि प्रकारको विभेद नगर्ने गरेको पाइएको छ ।
कार्यक्रमअन्तर्गत बाल क्लब र महिला क्लब गठन गरी किशोरी, महिला, अभिभावक तथा समुदायलाई महिनावारीसम्बन्धी सचेतना दिइएको छ । सामाजिक अन्धविश्वास तथा विभेद घटाउने, स्वच्छता र सुरक्षित महिनावारी व्यवस्थापनमा पहुँच बढाउने तथा महिनावारीलाई स्वास्थ्य, सम्मान र अधिकारको विषयका रूपमा स्थापित गर्ने गतिविधि सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
लालबन्दी–३ लाई गत जेठ ११ गते नेपालको पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्