नेभिगेशन
प्रदेश

‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’

काठमाडौँ  । यही भदौ १० गते रसुवाको भोटेकोशी हुँदै गएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी बेपत्ता भए  । कतिपय सुरुङभित्रै फसे  । त्यसैमध्ये त्रिशुली जलविद्युत् आयोजना ‘थ्री’ ‘ए’ को सुरुङबाट १० दिनपछि दुईजनाको जीवितै उद्धार भयो भने एउटा शव निकालियो  । 
सो उद्धारमा सेना, प्रहरी र सशस्त्र प्रहरी बाहेक घटनाको दोस्रो दिनदेखि नै एक सर्वसाधारण युवा खटिएका थिए  । उनी थिए, ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का सुजन श्रेष्ठ  । पेसाले एक्साभेटर अपरेटर श्रेष्ठले ११ गतेदेखि २१ गतेसम्म उद्धारमा अथक मेहनत गरे  । उनले राससलाई उद्धार अनुभव यसरी बताएः
भदौ १० गते भोटेकोशीमा आएको बाढीले त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनामा ठूलो क्षति पु¥यायो । धेरै कर्मचारी सुरुङभित्रै फसेको समाचार हेरेपछि मलाई विपद्को बेला राज्यका लागि केही गर्नुपर्छ भन्ने लाग्यो । म पेसाले एक्साभेटर अपरेटर हुँ । नेपाल हेभी इक्विपमेन्ट अपरेटर सङ्घले उद्धारमा जान इच्छुकका लागि निकालेको सूचना देखेर मैले सम्पर्क गरेँ र ११ गते नेपाली सेनामार्फत उद्धारका लागि आयोजनास्थल पुगेँ ।
त्यहाँ पुग्दा बजार बगरमा परिणत भएको दर्दनाक अवस्था थियो । मैले सेनाको विपद् व्यवस्थापन गण र ‘स्पेशल फोर्स’सँग मिलेर काम सुरु गरेँ । नदी किनारमा बाढीको त्रास र निरन्तरको झरीका बीच काम गर्नु निकै चुनौतीपूर्ण थियो । १२ गतेसम्ममा हामीले सुरुङसम्म पुग्ने बाटो बनायौँ । नक्साअनुसार ठूला ढुङ्गा पन्छाउँदै निरन्तर खटिएपछि १८ गते बेलुका मात्र हामी सुरुङको प्रवेशद्वार पत्ता लगाउन सफल भयौँ । भित्र पस्ने बाटो पूरै थुनिएको थियो । काम नरोकी खटिँदै गर्दा रातको १–२ बजेतिर भित्रबाट मानिस बोलेको जस्तो मधुरो आवाज सुनियो । मानिस जीवितै रहेको थाहा पाएपछि हामीले कामको रफ्तार झन् बढायौँ । अन्ततः १९ गते बिहान सुरुङको जटिल भाग फुटाएर भित्र प्रवेश ग¥यौँ र दुई जनालाई जीवितै बाहिर निकाल्यौँ ।
त्यसपछि म सर्वसाधारण भए पनि अनुमति लिएर सेनासँगै सुरुङभित्र पसेँ । भित्र १६०–१७० मिटर परसम्म घुपप्प अँध्यारो थियो । घुँडाभन्दा माथिसम्म लेदो, ठूला ढुङ्गा र सिङ्गै रूखहरू थुप्रिएका थिए । त्यस्तो कठिन र जोखिमपूर्ण अवस्थामा सुरुङको माथिल्लो तलामा पुगेर हामीले एउटा शव निकाल्यौँ ।
त्यही बेला बाहिर मिडियामा भित्र अक्सिजन र जुस पुगिसक्यो भन्ने गलत हल्ला फैलिएको थियो । त्यो देखेर चित्त नबुझेपछि मैले त्यहाँको वास्तविक अवस्था देखाउँदै भिडियो बनाएर हालेँ । त्यो भिडियो देखेपछि हराएकाका आफन्तले मलाई आश मानेर सम्पर्क गर्न थाल्नुभयो । उहाँहरूको त्यो पुकारले मलाई थकित शरीर लिएर पनि निरन्तर खटिन थप ऊर्जा दियो । कसैको सास बचाउन नसके पनि लास मात्रै भए पनि आफन्तलाई बुझाउन पाए सन्तुष्टि मिल्छ भन्ने भावनाले म झन् डटेर लागेँ ।
सुरुमा मेसिन लिएर पुग्ने म एक्लो थिएँ, तर पछि थप मेसिन, प्रहरी र अन्य अपरेटरहरू पनि आइपुग्नुभयो । चिनियाँ विशेषज्ञको टोलीले पनि खोजी ग¥यो, तर थप कोही जीवित भेटिएनन् । दुई जनाको ज्यान बचाएपछि एक जना सेनाको कर्नेलसाबले धाप मार्दै ‘थ्याङ्क यु सुजन भाइ’ भन्नुभयो । त्यो क्षण म निकै भावुक भएँ, मैले जे गरेँ ठीक गरेँ भन्ने लाग्यो ।
घरमा मेरी आमा बिरामी हुनुहुन्थ्यो, उहाँलाई सम्झाएर म दुई–तीन दिनका लागि मात्रै भनेर उद्धारमा निस्किएको थिएँ । तर, त्यहाँ काम गर्दै जाँदा केही सफलता हात नपरेसम्म मलाई फर्किनै मन लागेन र २१ गते मात्र घर फर्किएँ । यस्तो विकराल अवस्थामा एक साधारण नागरिकका रूपमा आफ्नो सीप प्रयोग गरेर उद्धारमा खटिन पाएकोमा म सन्तुष्ट छु र यो अवसर दिने सम्पूर्ण सुरक्षा निकाय तथा स्थानीयप्रति आभारी छु ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्