नेभिगेशन
प्रदेश

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

भद्रपुर (रासस) – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउनेलाई पैसाको प्रलोभनमा बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । पक्राउ परेका महिलाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । इप्रका अनारमनीका डीएसपी  सन्तोष पाठकका अनुसार आर्थिक रूपमा कमजोर व्यक्तिलाई केही हजार रुपैयाँ दिने प्रलोभन देखाएर उनीहरूको नाममा बैंक खाता खोल्न लगाउने, विभिन्न सेवा प्रदायक कम्पनीका सिमकार्ड लिन लगाउने र त्यसपछि मोबाइल बैंकिङलगायतका माध्यमबाट हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खाता खोलिदिएबापत ८ हजारदेखि १० हजार रुपैयाँसम्म दिने गरेको पाइएको उनले बताए । खातावालाले आफ्नो खातामार्फत भइरहेको कारोबारबारे जानकारी नपाउने र कारोबारको नियन्त्रण अन्य व्यक्तिले लिने गरेको हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने भएकाले खोजी तथा निगरानी तीव्र पारिएको डीएसपी पाठकले बताए । आफ्नो नामको बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा गैरकानुनी कारोबार भए खातावाला समेत अनुसन्धानको दायरामा पर्न सक्ने भएकाले प्रलोभनमा परी बैंक खाता, एटीएम तथा मोबाइल बैंकिङको विवरण अरूलाई उपलब्ध नगराउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्