नेभिगेशन
प्रदेश

किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले सोमबार सिंहदरबार परिसरबाट पक्राउ गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग सिंहदरबारमा राखेको छलफलमा सहभागी भएर निस्कँदै गर्दा प्रहरीले तामाङलाई पक्राउ गरेको हो । 
बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएका उनलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
शाहले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका थिए । त्यसमा तामाङ पनि सहभागी थिए । उनीविरुद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबारमार्गले  वैशाख २८ मा काठमाडौं जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो । अरुण अर्यालको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी वीरबल तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले अदालतसँग अनुमति मागेको खुलेको छ । प्रहरीको पत्रमा जाहेरी दरखास्त तथा बैंक विवरणबाट वारदातमा संलग्न रहेको खुलेको भन्दै तामाङलाई पक्राउ गर्न अनुमति मागिएको उल्लेख छ । त्यसपछि काठमाडौं जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम तामाङको नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो । 
किस्पाङ–३ का तामाङको काठमाडौंको नयाँबजारमा ट्रभर एजेन्सी छ । उनीमाथि  ठगीसम्बन्धी थप आरोपसमेत रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्