काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन उद्धार, सरसफाइ, राहत व्यवस्थापन तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ ।
बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती, सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । नागरिकका घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेष हटाउँदै प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन सीमित स्रोतसाधनका बाबजुद निरन्तर खटिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा ढुंगा माटो हटाउने, घरका भग्नावशेष सफा गर्ने तथा विद्यालय, स्वास्थ्य संस्थालगायत सार्वजनिक महŒवका भवनको सरसफाइ गरी पुनः सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेको छ । स्थानीय तह, स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायसँगको सहकार्यमा प्रहरीले आवश्यक काम गरिरहेको जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बाढी प्रभावित क्षेत्रका नागरिकको जीवनयापन सहज बनाउन प्रहरी थप क्रियाशील भएर लागेको बताए । ‘पीडितहरूको घर सफा गर्ने, भग्नावशेषमा भेटिएका नागरिकका धनमाल सम्बन्धित धनीलाई बुझाउने तथा विद्यालय र स्वास्थ्य संस्थामा जम्मा भएका ढुंगा माटो हटाउन नेपाल प्रहरी अहोरात्र खटिरहेको छ,’ उनले भने ।
विपद्का कारण सिर्जित मनोवैज्ञानिक त्रासलाई मध्यनजर गर्दै नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन प्रहरी प्रयासरत छ । भोटेकोशी बाढीले भौतिक तथा मानवीय क्षतिसँगै प्रभावित क्षेत्रका बासिन्दामा मनोवैज्ञानिक त्राससमेत सृजना गरेको छ । विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकामा परेको मानसिक असरलाई ध्यानमा राख्दै प्रहरीले मनोपरामर्श सेवासमेत प्रवाह गरिरहेको छ ।
घरपरिवार तथा सम्पत्ति गुमाएका पीडितमा उत्पन्न हुनसक्ने मानसिक तनावलाई ध्यानमा राखेर उनीहरूको दैनिक जीवनयापन सहजीकरण गर्ने कार्यलाई प्रहरीले प्राथमिकता दिएको हो ।
विभिन्न जिल्लाका होल्डिङ सेन्टर लगायतका स्थानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुनसक्ने दुव्र्यवहार र हिंसाका घटनाप्रति प्रहरी थप संवेदनशील भएर लागेको छ । उद्धार गरिएका व्यक्तिलाई राहत वितरण गर्दा स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी व्यवस्थित र पारदर्शी रूपमा काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढी प्रभावित जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हालसम्म १९६ वटा कार्यक्रम सञ्चालन गरी ४७ हजार ७७४ जना लाभान्वित भएका छन् । यस्तै, विपद्पश्चातका विभिन्न व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउन प्रहरीले ‘टिमुरे टु त्रिवेणी’ अपरेसन सञ्चालनमा ल्याएको छ ।
चार सय ट्रक–कन्टेनर हराए
बाढीमा ट्रक र कन्टेनर गरी चार सयवटा हराएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक, कन्टेनर, चालक र मजदुरको अवस्थाबारे सरकारलाई जानकारी गराएको हो ।
महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ नेतृत्वको टोलीले सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी क्षतिको विवरण उपलब्ध गराइएको छ । बाढीबाट यातायात व्यवसायी तथा मजदुरमा परेको मानवीय र भौतिक क्षतिको मूल्यांकन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको थियो । बाढीपछि विभिन्न निकायसँग समन्वय गरी हराएका सवारीसाधन तथा चालक र मजदुरको विवरण संकलन गरेको जनाएको छ ।
बाढीबाट भएको क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार तथा अन्य विषयमा रायसहितको प्रतिवेदन तयार गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।
यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन तथा कानुनमा आवश्यक परिमार्जन गरी समस्या समाधानका लागि सिफारिस गर्न पूर्वाधार विकास मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । उक्त समितिले ४५ दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्नेछ ।
महासंघले भोटेकोशी बाढीपीडितका लागि १० लाख ११ हजार १११ बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा हस्तान्तरण गर्ने जानकारी मन्त्रीलाई गराएको थियो ।
राहत कोषमा १३ अर्ब ६८ करोड
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ पुगेको छ । कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर छ । यसअघि उक्त कोषबाट बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।