नेभिगेशन
प्रदेश

पहिचान नभएका ६५ शवको व्यवस्थापन

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परेर ज्यान गुमाएका तर पहिचान नभएका शवको विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा व्यवस्थापन गरिएको छ । 
रसुवाको विभिन्न स्थानबाट संकलित ६३ र नुवाकोटको दुईसहित ६५ शवको व्यवस्थापन गरिएको हो । यसअघि नुवाकोट र रसुवाबाट संकलन भएका शव काठमाडौं पठाउँदै आएकोमा स्थान अभावको कारण जिल्लामा नै व्यवस्थापन गर्न भनेसँगै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम संकलन गरिएका शवको खाडलमा पुरेर व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी  बिपीन रेग्मीले जानकारी दिए ।
उनका अनुसार डीएनए परीक्षणका लागि नमूना संकलन गरेर परीक्षणमा मेल खाएमा आफन्तलाई सहजै उपलब्ध गराउन सकिने गरेर अन्तर्राष्ट्रिय मापदण्डसहित व्यवस्थित र वैज्ञानिक रूपमा शवको व्यवस्थापन गरिएको छ ।
‘खाडलमा राख्नुअघि प्रत्येक शवको डीएनएका लागि नमूना संकलन, शव गाड्न निश्चित दूरीअनुसार स्थान निर्धारण, शव वा शवका टुक्रालाई विशेष प्रकारको ब्यागमा राखेर ब्यागभित्रै शवको पहिचान खुल्ने संकेत नम्बरसमेत उल्लेख गरेर व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘व्यवस्थापन भएका शव आगामी दिनमा पहिचान भई निकाल्नुपरेमा सहज बनाउन कंक्रिटको ढलानमा शवलाई दिइएको संकेत नम्बर जमिनको सतहमा राखेर जीपीएस नक्सांकनसमेत समावेश गरिएको छ ।’
यही भदौ १० मा आएको विनाशकारी बाढीमा परेर मृत्यु भएकामध्ये अहिलेसम्म नुवाकोटमा २०२ र रसुवा १८६ जनाको शव भेटिएका छन् । त्योमध्ये रसुवामा १० जना र नुवाकोटमा १८ जनाको पहिचान भएसँगै सम्बन्धित परिवारले बुझेका छन् भने बाँकी शव यसअघि व्यवस्थापनको लागि काठमाडौं पठाइएको थियो ।
नुवाकोट र रसुवाबाट पहिचान नभएका शव शिक्षण अस्पताल महाराजगञ्जमा पठाउँदै आएकामा अबका दिनमा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका अनुसार शवको व्यवस्थापन गर्न भनेपछि विदुर–६ खम्पा क्याम्पस्थित केन्द्रीय कारागार र फोहरको डम्पिङ क्षेत्र नजिकैको सुरक्षित स्थानमा व्यवस्थापन गरिएको हो ।
शव व्यवस्थापनमा अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्डअनुसार  व्यवस्थित र वैज्ञानिक रूपमा गरिएको हुँदा डीएनएमार्फत पछि पहिचान को–को हुन् भन्ने भएमा सहजै उपलब्ध गराउन सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्