नेभिगेशन
प्रदेश

कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न

काठमाडौं । पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । 
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा यही भदौ १७ मा प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताएका थिए । 
प्रधानमन्त्रीको सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ । यसका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निरन्तर खटिरहेको बताइएको छ । 
गत भदौ १० मा बिहान आएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पु¥याएको थियो भने भदौ १४ मा आएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकहरुको सहयोगमा ४ दिनसम्म द्रुत अध्ययन गरेको थियो । विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिएको थियो । विज्ञहरुबाट प्राप्त सुझावका अनुसार यही भदौ १९ देखि रुख कटान सुरु गरिएको थियो । त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर ट्रयाक निर्माण गरिएको हो । 
यस काममा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेको छ । फलस्वरुप काम सुरु भएको १०औँ दिन अर्थात भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारी साधन सञ्चालन भइसकेको छ । त्यसयता बिहान र बेलुका अत्यावश्यक यातायात आवतजावत भइरहेको छ ।
हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । भोलिसम्म ग्राभेलको काम पूरा हुनेछ भने असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ ।
झोलुंगे पुलहरूको मर्मत कार्य जारी
रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ ।
क्षतिग्रस्त भएकामध्ये १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य सुरु भइसकेको छ । धादिङको कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल रहेका छन् । त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको छ । यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको बताइएको छ । 
यसका साथै बाढीबाट प्रभावित थप ८ वटा झोलुङ्गे पुलहरूको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढेको छ । मर्मतमा आवश्यक डेकलगायत सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भइ पहिलो चरणको  सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पाट्र्स खरिद प्रक्रिया अघि बढाइएको छ ।
यसबाहेक उक्त करिडोरमा मर्मत नै हुन नसक्ने गरी क्षति भएका ३३ वटा झोलुङ्गे पुलको भने पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान भइसकेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्