नेभिगेशन
प्रदेश

२६ निर्माण कम्पनीसँग स्पष्टीकरण माग

चितवन । सम्झौताका शर्तअनुसार निर्माण कार्य पूरा नगर्ने २६ जना निर्माण व्यवसायीलाई भरतपुर महानगरपालिकाले स्पष्टीकरण सोधेको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै चित्त बुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अगाडि बढाइने बताएको छ । 
महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यले निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न गर्न ठोस प्रयास नगरेका तथा पटकपटक लिखित र मौखिक रूपमा आग्रह गर्दासमेत बेवास्ता गरेका निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधिएको बताए । तोकिएको अवधिभित्र स्पष्टीकरण पेस नगरेमा, निर्माण कार्यलाई निरन्तर तीव्रता नदिएमा वा मनासिब कारण पेस हुन नआएमा सम्झौताबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने आचार्यको भनाइ छ ।  
महानगरपालिकाका अनुसार सम्बद्ध निर्माण व्यवसायीले लिएका ठेक्कामा लामो समयसम्म निर्माण कार्य पूरा गर्न चासो नदेखाउँदा सम्बन्धित योजना सम्पन्न हुन नसकेको तथा कतिपय योजना अलपत्र अवस्थामा छन् । सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा ठेक्का सम्झौताको शर्तबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी आचार्यले दिए । 
महानगरपालिकाले ठेक्का सम्झौता तोड्ने, कार्यसम्पादन जमानत जफत गर्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने, हर्जाना असुल गर्ने तथा बाँकी निर्माण कार्यको मूल्यांकन गरी ठेक्का सम्झौताबमोजिम सरकारी बाँकीसरह असुलउपर गर्नेलगायत कारबाही गर्न सक्नेछ । काम नगर्ने परिस्थिति आएका ठेक्का रद्द गरी पुनः बोलपत्र आह्वान गर्ने इन्जिनियर आचार्यले बताए । 
निर्माण व्यवसायी संघ चितवनका महासचिव पुष्कर अधिकारी भने सरकारले बजेटमा मूल्य समायोजन गर्ने भनेको भए पनि सोअनुरूप काम नहुँदा निर्माण व्यवसायीले काम गर्न नसकेको बताउँछन् ।
 
ठेक्का लिदाँको समयको भन्दा अहिले मूल्य दोब्बरसम्म बढेको उनले उल्लेख गरे । ८० रुपैयाँ प्रतिकिलो पाउने बिटुमिन १६० सम्म पुगेको र पाउन कठिन भएको, प्रतिलिटर १३८ पर्ने डिजल बढेर २२४ रुपैयाँसम्म पुगेको गुनासो उनले गरे । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्