नेभिगेशन
प्रदेश

इन्द्रसरोवरमा गाडी दुर्घटना, चारको मृत्यु

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर–२ सुकौरामा मंगलबार भएको यात्रुवाहक  गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 
मृत्यु हुनेमा नवलपुरको कावासोती–१ का २४ वर्षीय नरबहादुरसिंह ठकुरी, धनुषाको धनुषाधाम–४ का ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराको परवानीपुर–३ लिपनीमालका  ३२ वर्षीय सरफरोस मियाँ छन् । शव हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए । 
घाइते चालक बाराको कलैया–२४ का २० वर्षीय अमीर अन्सारी, हेटौंडा–११ की २३ वर्षीया कल्पना तामाङ र मकवानपुरगढी–१ का २३ वर्षीय राजकुमार स्याङ्तानको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बाराको महागढीमाई–११ की २१ वर्षीया बबियाकुमारी यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अन्सारी र स्याङ्तानको अवस्था गम्भीर तथा यादवको अवस्था मध्यम छ ।
उपचाररत यादवले काठमाडौंमा बसेर लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेकी थिइन । परीक्षा दिन वीरगञ्ज जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । गाडी सडकबाट खसेर पल्टिँदै गर्दा झ्यालबाट बाहिर निस्कन सफल भएको उनले बताइन । उनका अनुसार दुर्घटनाअघि गाडी तीव्र गतिमा गुडिरहेको थियो । 
प्रहरीले भने दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी दिउँसो २ बजे हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिब एक हजार मिटर तल खसेको थियो । गाडीमा चालकसहित आठ जना सवार  थिए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्