नेभिगेशन
प्रदेश

मधेस र कोशीबीच सहकार्य समझदारी

जनकपुरधाम (रासस) – मधेस र कोशीका प्रदेश सरकारले वित्तीय क्षेत्रमा सहकार्य गर्ने भएका छन् । यसका लागि ुदवै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयबीच समझदारी भएको हो ।
दुवै प्रदेशका आर्थिक मामिला मन्त्रीद्वय मधेशका युवराज भट्टराई र कोशीका विदुरकुमार लिङ्थेपद्वारा शुक्रबार हस्ताक्षरित समझदारीपत्रमा  आर्थिक मामिला मन्त्रालयबीच पूर्व–बजेट परामर्श, बजेट तर्जुमा, राजस्व प्रशासन, सार्वजनिक वित्तीय व्यवस्थापन, वित्तीय संघीयता तथा आर्थिक नीतिलगायत क्षेत्रमा सहकार्य गर्ने उल्लेख छ । समझदारीअनुसार दुवै प्रदेशले वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणअघि साझा प्राथमिकता, राजस्व तथा आर्थिक नीतिका विषयमा संयुक्त छलफल तथा कार्यशाला गर्नेछन् । साथै समान प्रकृतिका कार्यक्रमबाट हुने दोहोरो खर्च घटाउँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने नीति लिइने उल्लेख छ ।
समझदारीपत्रमा संयुक्त अन्तरप्रदेशीय समन्वय समिति गठन गरी वार्षिक सहकार्य कार्ययोजना बनाउने तथा प्रगति समीक्षा गर्ने व्यवस्था गरिएको छ भने मन्त्रिस्तरमा वार्षिक उच्चस्तरीय सम्मेलनसमेत पालैपालो आयोजना गरिने समझदारीपत्रमा उल्लेख छ । राजस्व सम्भाव्यता अध्ययन, राजस्व सुधार कार्ययोजना, स्थानीय तहको राजस्व प्रशासन सुदृढीकरण, वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा प्रदेश–स्थानीय तहबीचको वित्तीय सम्बन्धका विषयमा पनि संयुक्त अध्ययन तथा अनुसन्धान गरिने मन्त्री भट्टराईले बताए । त्यस्तै, डिजिटल सार्वजनिक वित्तीय प्रणालीको प्रयोग तथा तालिममा सहकार्य गर्ने र तथ्यांक तथा सूचना आदानप्रदान गर्दा गोपनीयता तथा सुरक्षा मापदण्ड अपनाउने समझदारी भएको छ ।
समझदारी कार्यान्वयनका लागि दुवै प्रदेशका आर्थिक मामिलामन्त्रीको नेतृत्वमा उच्चस्तरीय मार्गदर्शक समिति तथा मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक एवं कार्यान्वयन समिति गठन गरिनेछ । निरन्तर समन्वयका लागि दुवै मन्त्रालयबाट उपसचिवस्तरका एक–एक अधिकारीलाई सम्पर्क व्यक्ति तोकिनेछ । संयुक्त रूपमा सञ्चालन हुने कार्यशाला, तालिम, प्रविधि विकास तथा अध्ययन–अनुसन्धानमा दुवै प्रदेशले ५०–५० प्रतिशत लागत व्यहोर्ने समझदारीपत्रमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्