काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशका विभिन्न जिल्लामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बागलुङ, पाल्पा र म्याग्दीमा मात्रै पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । चार दिनमा बाढी, पहिरो र डुबानका घटनामा बागमतीमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेसमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । चार जना घाइते भएका छन् ।
बागलुङमा पहिरोले दुई घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ । तमानखोला–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । तमानखोला–४ सन्तरमा घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । पहिरोमा परेकी हस्तवीरकी श्रीमती बेपत्ता छिन् ।
निसीखोला–३ मा आइतबार बिहान पौने ४ बजे घरमाथिबाट ढिस्को खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षीय मनोज, नौ वर्षीय मुकेश र पाँच वर्षीय निसनको मृत्यु भएको हो । पहिरो खस्दा उनीहरू घरभित्र सुतिरहेका थिए । श्यामकुमारीकी १४ वर्षीया छोरी मुस्कान भने अघिल्लो दिन हजुरबुबा–हजुरआमाको घर गएकी थिइन् ।
निसीखोलाकै वडा नम्बर ६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ । लगातारको वर्षासँगै बागलुङमा भएको मानवीय क्षतिको विवरण अझै थपिन सक्ने प्रहरीले जनाएको छ ।
पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । माथागढी गाउँपालिका–३ कसेनी भैँसीकट्टामा घर पुरिँदा ७५ वर्षीय लीलबहादुर घर्तीमगर, उनकी १७ वर्षीया छोरी दिना र छिमेकी मोतीलाल घर्तीकी १५ वर्षीया छोरी झरनाको मृत्यु भएको छ । यसअघि माथागढी–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट–६ ठिमुरेका ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो ।
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्नपूर्ण–५ गिवाङमा ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव भेटिएको छ । बेनी–३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर करिब ३५ वर्षीया कुमारी वली विकको मृत्यु भएको छ । अन्नपूर्ण–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने नेपाली सेनाको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ ।
बाढीपहिरोले घर र बस्तीमा पनि ठूलो क्षति पु¥याएको छ । गुल्मीका नौ स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । चन्द्रकोटमा मात्रै ७० घर जोखिममा छन् । रुरुक्षेत्रमा ४०, सत्यवतिमा ३०, रेसुङ्गामा २५, धुर्कोटमा १५, कालीगण्डकीमा १५, मुसिकोटमा १२, इस्मामा १२, छत्रकोटमा सात र गुल्मीदरबारमा पाँच घर जोखिममा छन् ।
तनहुँमा वर्षाका कारण १८ घरमा क्षति पुगेको छ । म्याग्दे–२ जामुनेमा लेदो बस्तीमा पस्दा खिमादेवी विकको घरमा क्षति पुगेको छ । घिरिङ–१ पुट्टारमा बाढीले धार परिवर्तन गर्दा पाँच घरमा पानी पसेको छ । ऋषिङ–१ धोक्लोमा पहिरोले दुई कच्ची घरमा क्षति पु¥याएको छ । बन्दीपुर–४ ठूल्ढुंगा, व्यास–१४ कैजले र भानुका विभिन्न स्थानमा पनि घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
व्यास–१० डिहीगाउँमा पहिरोले तिलबहादुर विकको घर पूर्ण रूपमा बगाएको छ । परिवार विस्थापित भएको छ । व्यास–५ चापाघाटमा पहिरोले पेट्रोलपम्पमा क्षति पु¥याउँदै एउटा डिजेल ट्यांकीसमेत बगाएको छ ।
सडक र पुलमा समेत ठूलो क्षति भएको छ । म्याग्दीको अन्नपूर्ण–६ पोखरेबगर र वडा २ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । पुल बगेपछि अन्नपूर्णका वडा २, ३ र ४ तथा मुस्ताङसँगको यातायात सम्पर्क टुटेको छ । खामभित्तामा कालीगण्डकीले सडक कटान गरेको छ ।
मुस्ताङमा जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेभीरदेखि कोरला नाकासम्म विभिन्न ठाउँमा पहिरो खसेको छ । थासाङको घाँसा क्षेत्रमा सडक माथिबाट पहिरो खसेको छ । मार्फास्थित फाराम खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको छ । जोमसोम–पान्डाखोला सडकमा पनि पहिरो खसेको छ । कागबेनीदेखि चैलेसम्म आधा दर्जनभन्दा बढी ठाउँमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कोरला नाकानजिक घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक संरचनामा क्षति पु¥याएको छ । उपल्लो मुस्ताङमा भारी हिमपात भएपछि कोरला क्षेत्रको सडकसमेत हिउँले ढाकिएको छ । कोरला भन्सार यार्डमा २०० भन्दा बढी कन्टेनर रोकिएका छन् । नाकामा करिब एक फिटभन्दा बढी हिउँ परेको सशस्त्र प्रहरीले जनाएको छ । हिमपातले स्थानीय व्यापारीका आधा दर्जनभन्दा बढी पालसमेत भत्किएका छन् ।
म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा पनि दर्जनौं स्थानमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि अन्नपूर्णका पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारमा कठिनाइ भएको छ । सडक र पैदलमार्ग अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा हेलिकप्टरबाट राहत सामग्री पठाउने तयारी गरिएको छ ।
पर्वतको जलजला–८ फर्सेमा कालीगण्डकी नदीले बस्तीमा ठूलो क्षति पु¥याएको छ । त्यहाँ ६७ घर बगेका छन् भने २३ घर उच्च जोखिममा छन् । बाढीले मुस्ताङदेखि म्याग्दी, पर्वत, स्याङ्जा हुँदै तनहुँको देवघाटसम्म असर परेको छ ।
चितवनमा नारायणी नदीको बाढीले क्रुजसिप बगाएर पुलको गैंडाकोटतर्फको पिलरमा अड्काएको छ । क्रुजसिपले पुलको पिलरमा धक्का दिएपछि पुलबाट सवारी आवागमन बन्द गरिएको छ । यससँगै पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बाढीपहिरोका कारण विद्युत् र सञ्चार सेवासमेत प्रभावित भएका छन् । मुस्ताङको चोखोपानीस्थित २४० किलोवाट क्षमताको जलविद्युत् गृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको छ । म्याग्दीको दानादेखि कोवाङसम्मको ३३ केभी प्रसारण लाइन अवरुद्ध भएपछि मुस्ताङमा विद्युत् सेवा ठप्प भएको छ । म्याग्दीमा सडक र विद्युत्सँगै सञ्चार सेवा प्रभावित हुँदा उद्धार तथा राहत व्यवस्थापनमा कठिनाइ भएको प्रशासनले जनाएको छ ।
प्रहरीका अनुसार बाढी, पहिरो र डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका सामान निकाल्ने काम जारी छ । वर्षा अझै भइरहेकाले जोखिममा रहेका बस्तीको विवरण संकलन र क्षतिको थप आकलन भइरहेको प्रहरीले जनाएको छ ।