नेभिगेशन
प्रदेश

हिउँ पग्लिने पर्खाइमा रोकियो खोजी

काठमाडौं । मनाङको नार्पाभूमि–५ स्थित हिम्लुङ आधार शिविरमा हिमपहिरोमा परी दिवंगतमध्ये थप दुई जनाको शव सोमबार फेला परेको छ । गोरखाको धार्चे–२ का ३० वर्षीय वीरेन्द्र गुरुङ र खोटाङको ऐसेलुखर्क–९ का घनश्याम राईको शव भेटिएको प्रहरीले जनाएको छ ।  
आइतबार दुई जनाको शव भेटिएको थियो । 
आइतबार संखुवासभाको भोटखोला–३ का छेवी भोटे र भोटखोला–२ का पासाङ भोटेको शव भेटिएको थियो । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार हिमपहिरोमा अझै १२ जना बेपत्ता छन् । हराएकामध्ये ११ जना सम्पर्कमा आएका छन् । बेस क्याम्पका लागि कुल २७ जनाको टोली गएको जनाइएको छ । आइतबार हिमपहिरोसँगै आएको बाढीले मनाङमा धनजनको क्षतिसँगै जनजीवन प्रभावित छ । गण्डकी प्रदेश सरकारले सोमबार त्यसतर्फ चिकित्सक टोली मनाङ पठाएको छ । औषधीसहित दुई जना चिकित्सक र एक जना नर्सलाई हेलिकप्टरमा पठाइएको हो ।
यसैबीच नेपाल नेसनल माउन्टेन गाइड एसोसियसनले उद्धारका काम  रोकेको छ । एसोसियसनका अध्यक्ष तुलसिंह गुरुङका अनुसार हिमपातले ठाउँ पत्ता लगाउन गाह्रो पर्दा अहिले उद्धार सम्भव नभएकाले काम रोकिएको हो । हिउँ नपग्लिई उद्धारका काम सम्भव नभएकाले टोली फर्किएको जानकारी उनले दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्