नेभिगेशन
अर्थतन्त्र

गौर भन्सारको राजस्व असुली वृद्धि

रौतहट । विगतमा लक्ष्य पूरा गर्न संघर्ष गर्दै आएको गौर भन्सार कार्यालयले पछिल्ला वर्ष राजस्व संकलनमा उल्लेखनीय सुधार गरेको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को साउनदेखि असोजसम्मको तीन महिनामा १२ करोड ७९ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा ७ करोड ४३ लाख १६ हजार रुपैयाँ र आर्थिक वर्ष २०८१÷८२ मा ६ करोड ६५ लाख १० हजार रुपैयाँ मात्रै संकलन भएको थियो ।
गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५ करोड ३६ लाख ६४ हजार रुपैयाँ बढी राजस्व उठेको हो । राजस्व वृद्धिलाई भन्सार प्रशासनले सीमा क्षेत्रमा गरिएको निगरानी र आयात–निर्यात प्रक्रियामा गरिएको कडाइको परिणाम मानेको छ । गौर भन्सार कार्यालयका सूचना अधिकारी कमल नेपालीका अनुसार भन्सारमा कडाइ गरिनुका साथै अवैध रूपमा हुने कारोबार नियन्त्रणका प्रयासले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको छ ।
वार्षिक राजस्व संकलनको अवस्था हेर्दा पनि गौर भन्सारको प्रगति देखिन्छ । आर्थिक वर्ष २०८२÷८३ मा ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्यमा ४६ करोड ९९ लाख ९४ हजार रुपैयाँ असुल भएको थियो । लक्ष्यको तुलनामा यो करिब ४१ प्रतिशतले बढी हो । त्यसअघि आर्थिक वर्ष २०८१÷८२ मा ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा २९ करोड ९१ लाख ३० हजार रुपैयाँ मात्रै संकलन भएको थियो । जुन निर्धारित लक्ष्यको जम्मा ८४ प्रतिशत मात्र थियो । 
चालु आवको राजस्व वृद्धिमा असोज महिनाको योगदान पनि उल्लेख्य छ । असोजमा मात्रै ५ करोड ९७ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आवको असोजमा २ करोड २८ लाख ६२ हजार र आव २०८१÷८२ को असोजमा १ करोड ७८ लाख ८९ हजार रुपैयाँ मात्रै उठेको थियो । गत असोजमा अघिल्लो वर्षको सोही महिनाभन्दा ३ करोड ६८ लाख ७७ हजार रुपैयाँ बढी राजस्व उठेको छ ।
चाडपर्वको समयमा हुने आयात तथा भारतबाट सर्वसाधारणले ल्याउने खुद्रा सामानमा समेत भन्सार निगरानी र कडाइ बढाइएकाले असोजमा राजस्व संकलन बढेको हुन सक्ने अनुमान गरिएको छ । तर राजस्वमा भएको वृद्धिको प्रभाव स्थानीय बजार र व्यवसायमा भने देखिन नसकेको व्यवसायीहरूको भनाइ छ ।
रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रवीन्द्र गोपालीले भन्सारबाट राजस्व बढेको देखिए पनि व्यवसायमा अपेक्षित सुधार नआएको बताए । उनका अनुसार मुख्य भन्सार नाकामा कडाइ गरिए पनि अन्य खुला तथा सहायक सीमावर्ती क्षेत्रबाट हुने तस्करी नियन्त्रण हुन सकेको छैन । त्यसैले गत वर्षको दसैंको तुलनामा यस वर्ष स्थानीय व्यवसायीको कारोबारमा खासै वृद्धि भएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्