नेभिगेशन
प्रदेश

आगलागीबाट ६ करोडको क्षति

भद्रपुर । झापाको बिर्तामोडमा बुधबार भएको आगलागीको घटनामा ठूलो क्षति भएको छ । इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर जलेका छन् । बिर्तामोड–४ स्थित सिद्धार्थ होटलनजिकै राजेश मण्डलको घरमा आगलागी भएको हो । दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको डीएसपी रञ्जन अवालले बताए ।
उनका अनुसार घटनामा शुभलाभ इलेक्ट्रोनिक्स पसल तथा गोदाममा करिब रु तीन करोड, निरिका फार्मेसी तथा गोदाममा रु एक करोड र घरधनी मण्डलको घरमा रु दुई करोड बराबरको क्षति भएको छ ।
आगो आसपासका घरमा समेत फैलिएको थियो । आगलागी नियन्त्रणका लागि बिर्तामोड, भद्रपुर, मेचीनगर, दमक, कमल, शिवसताक्षी र गौरादहका सातवटा दमकल परिचालन गरिएका थिए । सेना, सशस्त्र, प्रहरी र स्थानीयवासीसमेत आगो निभाउन खटिएका थिए । घण्टौंको प्रयासपछि आगो निभाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्