नेभिगेशन
विश्व

‘ट्रम्प’ झल्को आउनुले भैंसीलाई जीवनदान

ढाका (एजेन्सी) । संसारमा कतिपयको भाग्य अनौठो तरिकाले चम्किन्छ । कसैको रूप त कसैको एउटा सानो विशेषता नै उसको जीवनको ‘टर्निङ प्वाइन्ट’ बनिदिन्छ । यस्तै अचम्मको भाग्य लिएर जन्मिएको छ, एउटा दुर्लभ अल्बिनो (शारीरिक रूपमा गोरो वा सेतो देखिने) भैंसी । ‘डोनाल्ड ट्रम्प’ भैंसीका रूपमा अहिले यो विश्वभर चिनिएको छ ।
यो भैंसी केही दिनअघिसम्म मुस्लिम समुदायको ठूलो चाड इद–उल–अजहा (बकरइद) मा बलि चढ्ने तयारीमा थियो । यतिबेला यो भैंसी भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अनुहार र कपालको अनौठो मेलका कारण एकाएक विश्वभर चर्चित मात्र भएन, मृत्युको मुखबाट जोगिएर नयाँ जीवन पाउन सफल भएको छ ।
भाग्यले जुरायो नयाँ जीवन
बंगलादेशको राजधानी ढाका नजिकै रहेको नारायणगञ्जको ‘राबेया एग्रो फार्म’मा करिब आठ महिनाअघि यो दुर्लभ भैंसी ल्याइएको थियो । झन्डै ६८० केजी तौल भएको यो भैंसी निकै शान्त स्वभावको थियो । फार्मका सञ्चालक जियाउद्दीन मृधाका भाइले यसको टाउकोमा रहेको अगाडिपट्टिको फुस्रो, सुनौलो कपाल र अनुहारको हाउभाउ दुरुस्तै अमेरिकी राष्ट्रपति ट्रम्पसँग मिलेको देखे । उनले माया गरेर यसको नाम नै ‘डोनाल्ड ट्रम्प’ राखिदिए ।
त्यसपछि सुरु भयो यसको अनौठो यात्रा । सामाजिक सञ्जालमा यसको भिडियो र तस्बिर भाइरल भएपछि फार्ममा यो अनौठो भैंसी हेर्ने मानिसहरूको ओइरो लाग्यो । तर, यसैबीच दुई महिनाअघि ढाकाका एक व्यवसायीले यसलाई इदमा कुर्वानी (बलि) दिनका लागि किने । नियमअनुसार इदको दिन यसको जीवन समाप्त हुनुपर्ने थियो ।
गृहमन्त्रीको निर्णयले बच्यो ज्यान
भैंसीको चर्चा बंगलादेशका स्थानीय सञ्चार माध्यममा मात्र सीमित रहेन, रोयटर्स र एएनआईजस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि यो सनसनी बन्यो । सामाजिक सञ्जालमा यसलाई बचाउनुपर्ने माग उठ्न थाल्यो भने अत्यधिक जनचासोका कारण सुरक्षा निकाय र प्रशासनका लागि पनि टाउको दुखाइ बन्न पुग्यो ।
अन्ततः इदको ठीक एक दिनअघि बंगलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले यो विशेष प्रजातिको भैंसीलाई बलि नदिई संरक्षण गर्ने निर्णय सुनाए । भैंसी किन्ने व्यवसायीलाई उनको रकम फिर्ता गरियो र ‘ट्रम्प भैंसी’लाई प्रहरीको कडा निगरानीमा केरानगञ्ज नमूना प्रहरी चौकी हुँदै ढाकास्थित केन्द्रीय चिडियाखानामा स्थानान्तरण गरियो ।
चिडियाखानामा नयाँ पाहुना
ढाका चिडियाखानाका निर्देशक रफिकुल इस्लाम तालुकदारका अनुसार यो भैंसीलाई सर्वसाधारणको प्रदर्शनीका लागि भन्दा पनि संरक्षणका लागि चिडियाखानामा ल्याइएको हो । चिडियाखानाको नियमअनुसार नयाँ आएका जीवजन्तुलाई कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा छुट्टै राख्नुपर्ने भएकाले अहिले नै सर्वसाधारणलाई यसको नजिक जान दिइएको छैन । यद्यपि, खुला ठाउँमा राखिएकाले मानिसहरूले यसलाई टाढैबाट नियालिरहेका छन् ।
प्राकृतिक रूपमा जनावरहरूमा मानिसको छवि देखिनु नौलो कुरा भने होइन । यसअघि चीनमा एउटा सुनौलो रङ्गीचङ्गी चरा र बेलायतमा एउटा अनौठो माछामा पनि मानिसहरूले ट्रम्पको रूप देखेका थिए । तर, अमेरिकी राष्ट्रपतिको विलासी जीवनशैली र कपालको ढाँचासँग नाम जोडिएकै कारण एउटा भैंसीले बगरेको तरबारबाट मुक्ति पाएर चिडियाखानाको राजकीय पाहुना बन्ने अवसर पाउनु पक्कै पनि एउटा रोचक र सुखद संयोग हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्